राष्ट्रिय सभामा बहुमत नभएपछि शंकर पोखरेलले वर्षमानलाई फोन गरेर भने 'अध्यादेशमा सहयोग गर्नुपर्यो'

राष्ट्रिय सभामा बहुमत नभएपछि शंकर पोखरेलले वर्षमानलाई फोन गरेर भने 'अध्यादेशमा सहयोग गर्नुपर्यो'

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश पारित गराउन एमालेले आफूहरूसँग सहयोग मागेको बताएका छन्। 

गुल्मीको चन्द्रकोट गाउँपालिकामा पार्टीको तेस्रो अधिवेशनमा बोल्दै उनले एमाले महासचिव शंकर पोखरेलले आफूलाई टेलिफोन गरी अध्यादेशमा सघाउन आग्रह गरेको बताए। 

'आज मात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो, पुनले भने, अस्तिसम्म हामीसँग दुई तिहाइ छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो। अब दुई दलीय व्यवस्थामा लान्छौँ भन्ने हुङ्कार गर्नुहुन्थ्यो। अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ।'

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन-२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो। 

राष्ट्रपति जारी भइसकेका ती अध्यादेश सरकारले गत माघ १८ मा हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गरिसकेको छ। बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा ती अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी थियो। 

तर, प्रतिनिधि सभामा सुविधाजनक बहुमत भए पनि राष्ट्रिय सभामा अल्पमतमा रहेकाले सरकारले सभामुखलाई आग्रह गरी अन्तिम समयमा आएर कार्यसूचीबाट हटाउन लगाएको थियो।

सरकार अध्यादेश पारित गर्नुपर्ने नैतिक दबाबमा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पटक-पटक छलफल गरिरहेका छन्। 

ओली र देउवासँगको छलफलमा राष्ट्रिय सभामा ३ सिट रहेको जसपा नेपालका अध्यक्ष यादवले मधेश प्रदेशको मुख्यमन्त्रीको माग गरेपछि अहिले सरकारलाई अध्यादेशको पारित गर्न असहज बनिरहेको छ। त्यसैक्रममा एमाले महासचिव पोखरेलले आफूसँग फोन गरेर सहयोग मागेको पुनले बताए। 

उपमहासचिव पुनले अध्यादेश अस्वीकृत हुने र सरकार छाड्न नैतिक दबाब पर्ने भएपछि एमाले आत्तिएको भन्दै आफूले पोखरेलको प्रस्ताव ठाडै अस्वीकार गरेको बताए। 

अध्यादेशअघि सामान्य छलफल समेत गर्न आवश्यक नठानेको एमाले नेतृत्व र प्रधानमन्त्री केपी ओली नैतिक संकटमा फस्ने भएपछि आफूहरूसँग सहयोगको हात बढाएको उनको भनाइ थियो। 

'दुई तिहाइको दुहाई दिने सरकारले अध्यादेशबाट शासन गर्न खोजेको छ। संविधान संशोधनको सहमति गर्दा दुई तिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो। राष्ट्रिय सभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ, उनले भने। 

उनले वर्तमान व्यवस्थामाथि विभिन्न प्रश्न उठिरहेको बेला १० वर्षे माओवादी आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सफल भएकाले यसको जस माओवादीले लिनुपर्ने बताए। 

माघ २६, २०८१ शनिबार २१:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।