अहिले माओवादी नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था छ : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन्।
अनेरास्ववियु क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको बताए।
उनले भने, ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो। जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ। म बिहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु।’
आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरू आएको उल्लेख गर्दै उनले जनताको बीचमा जान अब नयाँ खालको प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए।
यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको भन्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए।
उनले भने, ‘पार्टीहरू प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो। विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँदैछ भन्ने व्यक्त हुन्थ्यो। विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरूले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो। यसपटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ।’
संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको भन्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए।
व्यक्ति र गुटवादी होइन, मार्क्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गर्दै उनले आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्नका लागि तयारीमा लाग्न आग्रह गरे।
माघ २६, २०८१ शनिबार १७:५०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।