दिल्लीमा २७ वर्षपछि भाजपाको कम्ब्याक, जनताले पत्याएनन् कंग्रेसलाई

दिल्लीमा २७ वर्षपछि भाजपाको कम्ब्याक, जनताले पत्याएनन् कंग्रेसलाई

एजेन्सी : सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्षपछि दिल्ली विधान सभामा पुनरागमन गर्ने देखिएको छ। सुरूवाती मतगणनामा भाजपा ४६ सिटमा अगाडि देखिएको छ भने उसले २ सिट जितिसकेको छ।  

दिल्लीमा लगातार दुईपल्ट सरकार चलाइसकेको आम आदमी पार्टीलाई भाजपाले उछिनेको छ। अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको मात्र २० सिटमा अगाडि देखिएको छ भने उसले पनि २ सिट जितिसकेको छ।  

१५ वर्षसम्म लगातार दिल्लीमा शासन सत्ता चलाएको कंग्रेस (आई)ले एक सिट पनि जितेको छैन। 

दिल्लीका ७० सिटमध्ये कंग्रेसले जारी मतगणनामा कहीँ पनि अग्रता लिएको छैन। मत प्रतिशतको हिसाबले पनि कांग्रेसको अवस्था दयनीय देखिएको छ। 

आपका नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका छन् भने मनीष सिसोदिया पनि जंगपुरामा पराजित भए। 

तर, मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन्। अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन्। 

दिल्ली विधानसभामा भाजपाको अग्रता देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बेलुकी कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरेका छन्। 

भाजपाका दिल्ली इकाई अध्यक्ष विरेन्द्र सचदेवाले भाजपाले केन्द्रीय राजधानी दिल्लीमा सरकार बनाउने बताउँछन्।  

माघ २६, २०८१ शनिबार १५:४३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।