अमेरिकाले भारतीय आप्रवासी फिर्ता पठाउँदा किन लगायो हातखुट्टामा हतकडी र नेल?

एजेन्सी : अमेरिकामा अवैध रूपमा बस्दै आएका आप्रवासीहरूलाई भारत डिपोर्ट गर्दै गर्दा अपराधीको रूपमा व्यवहार गरेर हात खुट्टामा हतकडी र नेल लगाएर ल्याइएको भन्दै अहिले भारतमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएका छन्।
अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेको अमेरिकी सैन्य विमान बुधबार अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। अमृतसरमा ओर्लिएको विमानमा बालबालिकासहित १०४ जना थिए।
जहाजमा ल्याइएका आप्रवासीहरूमाथि अमानवीय र अपराधीसरह व्यवहार गरेको भन्दै त्यसको भोलिपल्टदेखि नै भारतमा ट्रम्पको विरोध सुरू भएको हो।
अमेरिकी सञ्चारमाध्यम सिएनएनले प्रसारण गरेको भिडिओमा भारतीय आप्रवासीहरू हात खुट्टा बाँधिएको अवस्थामा जहाजतर्फ लागेको देखाइएको छ।
भिडिओमा २३ वर्षीय आकाशदीप सिंहले ४० घन्टाको उडानको समयभरि त्यसरी नै आफूहरूमाथि हतकडी र खुट्टामा नेल बाँधिएको बताएका छन्।
'महिलाहरूमाथि पनि त्यस्तै व्यवहार भयो। ४० घन्टासम्म हातमा हतकडी र खुट्टामा नेल लगाइयो। खाने बेलामा र बाथरूम जाँदा पनि खोलिएन, सिएनएनको उक्त भिडिओमा आकाशदीपले भनेका छन्।
फ्लाइटमा कैयौंले हतकडी खोल्न सेनासँग अनुरोध गरेका थिए। तर उनीहरूले सुनेकानसुन्यै गरेको आकाशदीप बताउँछन्।
'हामीलाई उनीहरूले यसरी हेर्थे त्यो जीवनभर बिर्सन सकिँदैन। हातमा हतकडी र खुट्टामा सिक्रीले बाँधेकै अवस्थामा कष्टपूर्ण तरिकाले बाथरूम गयौं, उनले भिडिओमा भनेका छन्।
उनका अनुसार जहाज अवतरण गर्नुभन्दा केही समयअगाडि मात्रै त्यहाँ रहेका अधिकारीहरुले हतकडी र सिक्री खोलिदिएका थिए।
अमेरिकाले डिपोर्ट गरेका अर्का भारतीय ३५ वर्षीय शुकपाल सिंहले पनि आफूहरूलाई अपराधीसरह व्यवहार गरिएको बताएका छन्।
'४० घन्टासम्म हलचल गर्न दिइएन। खुट्टा सुन्निएर असह्य भएर उठ्न खोज्दा थर्काएर बस्न लगाउँथे, उनले भनेका छन्।
अमेरिकाले भारतीय नागरिकहरूलाई क्रूर र अमानवीय व्यवहार गरेको भन्दै शुक्रबार भारतका विभिन्न ठाउँहरुमा प्रदर्शन भएका थिए। प्रदर्शनकारीहरुले ट्रम्पको पुत्लासमेत जलाएका थिए।
घटना सार्वजनिक भएपछि विपक्षी दलका सांसदहरुले संसद भवन बाहिर शान्तिपूर्ण धर्ना दिएका थिए। धर्नामा भारतीय संसदका नेता प्रतिपक्ष राहुल गान्धीलगायत पनि सहभागी थिए।
यसलाई लिएर विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन्। त्यसपछि विदेशमन्त्री एस जयशंकरले भारतीय नागरिकमाथि दुर्व्यवहार हुन नदिन अमेरिकासँग सरकारले कुरा गरिरहेको संसदलाई जानकारी दिए।
जयशंकरले महिला र केटाकेटीलाई हतकडी नलगाइएको बताए। अवैध आप्रवासीलाई अमेरिकाले वर्षौंदेखि फर्काइरहेको र कानुनले हत्कडी लगाउने अधिकार दिएको उनको भनाइ छ।
विदेशमन्त्री एस जयशंकरले संसद्मा जवाफ दिँदै भने, 'आफ्ना देशका नागरिकहरू विदेशमा अवैध रूपमा बसिरहेका छन् भने उनीहरूलाई फिर्ता ल्याउनु सबै देशहरूको जिम्मेवारी हो।'
उनले देश निकालाको प्रक्रिया नयाँ नभएको, धेरै वर्षदेखि यो चल्दै आएको अनि यो एउटा देशमा मात्र लागू हुने नीति नभएको पनि बताए।
ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच घनिष्ट मित्रता रहेको चर्चा भारतभित्र पनि छ। मोदीलाई ट्रम्पले अमेरिका भ्रमणको निम्तासमेत दिएका छन्।
अमेरिकाले १८ हजार भारतीयलाई डिपोर्ट गर्ने जनाएको छ। भारतीय प्रधानमन्त्री मोदीले उनीहरूलाई स्वीकार गरिने बताए।
माघ २६, २०८१ शनिबार १५:३०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।