खानेपानी मन्त्रालयमा आगलागी : ५० लाख बराबरको क्षति, महत्वपूर्ण कागजपत्र जोगिए

खानेपानी मन्त्रालयमा आगलागी : ५० लाख बराबरको क्षति, महत्वपूर्ण कागजपत्र जोगिए

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले सिहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन्। शनिबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा घटनाबारे अनुसन्धान भइरहेको प्रष्टाए। 

उनले आगलागीमा कुनै पनि आवश्यक कागजपत्रहरू नजलेको बताए। डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपूर्ण कागजपत्रहरू जोगिएको उनको भनाई छ। 

उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरू बचेका छन्। कुनै पनि आवश्यक कागजपत्रहरू मेरो टेबुलमा थिएन। डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ। कहिले पनि टेबुलमा फाइल रहँदैन थियो। त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन्।’

उनले शुक्रबार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन हिट भएर होला भन्ने सोचेको बताए। 

उनले भने, ‘हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो। मैले कार्यालय सहयोगीलाई सोधें, उहाँले पानी तताउने मेसिन हिट भएर होला भन्नुभयो। अनि पल्क निकालेर सवा पाँच बजे निस्कियौँ। बिहान यस्तो दुखद घटना घट्यो।’ 

उनका अनुसार तीन वटा सीसी क्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरू जलेका छन्। आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको छ।
 
आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ। खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ।

आज बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगलागी भएको थियो। आजै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अवलोकन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालिएको छ। 

माघ २६, २०८१ शनिबार १४:५९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।