दिल्ली विधानसभाको मत परिणाम आज, २७ वर्षपछि भाजपा सत्तामा फर्कने अनुमान

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीको विधानसभा चुनावको नतिजा आज सार्वजनिक हुँदैछ।
फेब्रुअरी ५ मा ७० सिटका लागि भएको निर्वाचनको नतिजा आज सार्वजनिक हुन लागेको हो। उक्त दिन ६०.५४ प्रतिशत मतदान भएको थियो।
मतदानपछि १४ वटा एक्जिट पोलहरू जारी भएको थियो। जसमध्ये १२ वटामा भाजपा र दुई वटामा आम आदमी पार्टीले २ वटामा सरकार बनाउने अनुमान गरिएको छ।
यदि दिल्लीमा सरकार बनाएमा भाजपा २७ वर्षपछि फेरि सत्तामा फर्कनेछ। यसअघि १९९३ मा भाजपाले ४९ सिट जितेको थियो र ५ वर्षको अवधिमा तीन जना मुख्यमन्त्री बनाएको थियो।
दिल्लीमा आम आदमी पार्टीले भने तेस्रो पटक सत्ताको बागडोर सम्हालेको थियो। जसमध्ये जारी कार्यकालमा मुख्यमन्त्री अरविन्द केजरीवाल मदिरा घोटाला काण्डमा जेल गएका थिए।
यद्यपि अदालतले उनलाई जमानतमा रिहा गर्न आदेश दिएपछि उनी अहिले जेल बाहिर छन्। जमानतमा छुटेका केजरीवाल तेस्रो कार्यकालमा चार वर्ष ७ महिना ६ दिनसम्म मुख्यमन्त्री रहे।
जमानतमा रिहा भएपछि केजरीवालले राजीनामा दिए अनि उनकै पार्टीकी नेतृ आतिशीलाई मुख्यमन्त्री बनाए। आतिशी चार वर्ष ७ महिना ६ दिनसम्म दिल्लीको मुख्यमन्त्री रहिन्।
मतगणनाको अनुगमन गर्न पाँच हजार जनाको टोली खटाइएको दिल्लीका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्वच्छ गणना प्रक्रियाको लागि, प्रत्येक विधानसभा निर्वाचन क्षेत्रमा पाँच मतदाता (भेरिफाइबल पेपर अडिट ट्रेल) चयन गरिएको छ।
निर्वाचनको मतगणनाअघि सबै दलका प्रमुख नेताले आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन्।
माघ २६, २०८१ शनिबार ०८:२२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।