‘जनयुद्ध’ को नाममा प्रचण्डको ब्ल्याकमेल, अब समाजवादी क्रान्ति गर्ने दाबी

काभ्रे : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भेलाहरूमा नेता तथा कार्यकर्ताहरूलाई जनयुद्धको रक्षा भन्दै इमोसनल ब्ल्याकमेल सुरु गरेका छन्।
शान्तिपूर्ण राजनीतिमा आएसँगै माथिल्लो तहका नेतादेखि पहुँच भएका तल्लो तहकासम्मको जीवनशैली शङ्कास्पद रूपमा उकासिएपछि पार्टीको सङ्गठन छिन्नभिन्न भएको छ। पार्टीको जनधार खुम्चँदै बहुमतबाट ३० सिटको कमजोर उपस्थितिसहित तेस्रो दलमा खुम्चिएको छ।
कहिले एमाले त कहिले नेपाली कांग्रेसलाई प्रयोग गर्दै निरन्तर सत्तामा रहेका प्रचण्ड एमाले-काङ्ग्रेस मिलेसँगै प्रमुख प्रतिपक्षीमा झरेपछि अहिले पुन पार्टी कार्यकर्ताहरूसँग भेटघाट बढाइरहेका छन्।
पछिल्लो समय नेताहरू बिग्रिएको, जनस्तरमा पार्टी सङ्गठन कमजोर भएको आत्मसमीक्षा गर्दै प्रचण्ड अब पार्टी सुध्रने आश्वासन दिँदै हिँडिरहेका छन्। पछिल्लो समय पार्टीका आन्तरिक भेलाहरूमा उनले ‘जनयुद्ध’ शब्दको बढी नै प्रयोग गर्ने गरेको देखिन्छ।
शुक्रवार माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणमा पनि उनी बढी नै ‘जनयुद्धको सफलता’मा केन्द्रित भए।
उनले अहिले देशभरि भइरहेका भेला र प्रशिक्षणको उद्देश्य समाजवादी क्रान्तिकै तयारीको रूपमा बुझ्न आग्रह गरेका थिए।
‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरि भेला र प्रशिक्षण गरेका थियौँ,’उनले भेलामा भने ‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा त्यस्तै कार्यक्रमहरू गरिरहेका छौँ, यो हामीले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला हो।’
उनले ‘जनयुद्ध’ गर्नुअघि माओवादी शक्तिलाई विरोधीले नपत्याएको भन्दै त्यो बेलामा स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढ्दा प्रमुख शक्तिको रूपमा स्थापित भएको भन्दै पछिल्लो शान्तिकालमा कतै लरबराएको बताएका थिए।
‘अलि लरबरायौँ। अलिकति सुधारवाद र उदारवादमा हरायौँ, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने शङ्का गर्न थाल्यो,’उनले भेलामा भने ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौँ, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौँ, यही नै हाम्रो समाजवादी क्रान्ति प्रतिको सङ्कल्प हो।’
चुनवाङ बैठक सम्झिए प्रचण्डले
शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिस्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरू बढी नै दायाँतिर ढल्कन थालेको उनले बताए। उनले अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको दाबी गरे।
जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय उल्लेख गर्दै उनले त्यतिबेला अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरूसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ, तर त्यो गणतन्त्रलाई बर्जुवाहरुले आफ्नो अनुकूलको गणतन्त्र बनाउने प्रयास गर्ने छन् भनेर स्पष्ट भनेको बताए।
उनले त्यो बेलामा समाजवादी गणतन्त्र बनाउने प्रयास गर्ने बताएको र अहिले यही सङ्घर्षको विन्दुमा आइपुगेको दाबी समेत गरेका थिए।
जनयुद्धको थालनी, जनयुद्ध सञ्चालन, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा जस्ता निर्णय गर्ने अवसर पाउने माओवादी मात्रै एक मात्र शक्ति भएको भन्दै भेलामा उनले समाजवादी क्रान्तिको थालनी पनि माओवादीले नै गर्ने दाबी समेत गरे।
‘अब भाषण गरेर प्रशिक्षण दिएर मात्रै रूपान्तरण सम्भव हुने देखिएन’ उनले भने‘त्यसैले यो काम अब नेतृत्वबाट नै सुरु गर्नुपर्छ भनेर म पूरै आत्मसमीक्षा सहित देशभरि नेता कार्यकर्ता र जनताको बिचमा पुग्ने अभियानको थालनी गरेको छु। मैले एक चरण यो अभियान पूरा गरेपछि अब लगत्तै सिङ्गो पार्टी एकैसाथ देशभरि परिचालित हुने छ,रूपान्तरणको नयाँ अभियान अघि बढ्ने छ।’
सत्ताले बदनाम, तर ढाकछोप
माओवादी जवजव सत्तामा गयो बदनामै भयो। उच्च तहका नेतृत्व गम्भीर आर्थिक विचलन र भ्रष्टाचारमा जोडिए। उनीहरूको जीवनशैली एकाएक सर्वहाराबाट सम्पन्न भयो।
भेलामा प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दाको कमजोरी भने स्विकारेनन्। उल्टो जायज रहेको ठहर्याउने प्रयास गरे भेलामा।
उनले समाजवादी क्रान्तिकै लक्ष्यसहित आफू तेस्रो पटक सरकारको नेतृत्व गरेको र त्यो बेलामा सुशासन, सामाजिक न्याय र समृद्धिको मूल बाटो तय गर्दै भ्रष्टाचारविरुद्धको महाअभियान सुरु गरेको दाबी गरे।
प्रचण्ड सरकारमै रहेको बेलामा माओवादीका उच्च तहका नेताहरू सुन तस्करीमा जोडिए। उनको परिवारका सदस्यहरूको सम्बन्ध बिचौलियाहरूसँग बाक्लियो। तर उनले भेलामा यो पक्षबारे आत्मचिन्तन गरेनन्। ढाकछोप गरे।
‘हामीले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान नै समाजवाद निर्माणको भ्रूण थियो,’ उनले दाबी गरे ‘हामीलाई कांग्रेस एमालेभन्दा फरक हो भनेर जनताले सजिलो गरी बुझ्ने अभियान पनि यही हो।’
उनले प्रतिस्पर्धाकै बाटोबाटै माओवादीलाई समाजवादी क्रान्तिको नेता बनाउने र बेथिति र भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिने दाबी समेत गरे।
उनले दलाल र बिचौलियाहरूको घेरामा परेपछि क्रान्तिकारी नैतिकता हराउने भन्दै क्रान्तिको एक मात्र सर्त इमान र जनताप्रतिको समर्पणभाव भएको तर्क समेत गरेका थिए।
माघ २५, २०८१ शुक्रबार १९:३९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।