टोखा नगरपालिकाले वसुन्धरा क्षेत्रको १० रोपनी सार्वजनिक जग्गाको अवैध संरचना भत्कायो

काठमाडौँ : टोखा नगरपालिकाले काठमाडौँको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ। नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार टोखा नगरपालिका–५ वडा कार्यालय नजिक वसुन्धरामा निर्माण गरिएको अवैध संरचना डोजर लगाएर भत्काएको हो।
टोखाले सार्वजनिक जग्गामा निर्माण गरिएका घर टहरा हटाउन माघ २४ गतेसम्म समय दिए पनि उक्त समयमा निर्माण गरिएका संरचना नहटाएपछि शुक्रवार हटाएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए। संरचना हटाएर खाली गरिएको जग्गामा चारैतिर तारबार लगाउने बिसीले बताए।
टोखाले यसअघि विष्णुमती नदीको आसपासमा खोला मिचेर निर्माण गरिएका संरचना हटाएर विष्णुमती ‘कोरिडोर’ निर्माणको कामलाई अगाडि बढाइसकेको छ। नगरपालिकाले नयाँ बसपार्क क्षेत्रको विष्णुमती खोला वरपर सार्वजनिक स्थानमा राखिएका व्यापारीका टहराहरू पनि हटाई सार्वजनिक जग्गाको संरक्षण कार्य सुरु गरेको छ।
माघ २५, २०८१ शुक्रबार १८:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।