प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरू हुने बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ।
अध्यादेश निर्णयार्थ पेश गरिने भन्ने बुँदा भने कार्यसूचीमा राखिएको छैन। प्रतिनिधि सभामा कांग्रेस र एमालेसँग मात्रै आरामदायी बहुमत भए पनि राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्न सरकारलाई जसपाको पनि समर्थन आवश्यक रहन्छ।
अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालले निर्णय नगरेकाले बिहीबारको बैठकका लागि तय भएको कार्यसूची कानुनमन्त्री अजयकुमार चौरसियाको अनुरोधमा हटाइएको थियो।
माघ २५, २०८१ शुक्रबार ०७:२०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।