उकेरा टप फाइभ : संगीतकार वसन्त मुकारुङका हिजोका कुरादेखि मुक्कुमलुङमा पहिचानको राजनीतिसम्म

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु भन्ने प्रधानमन्त्री केही शर्मा ओलीको नियतमै शंका भएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले पटक-पटक देउवालाई सरकार हस्तान्तरण गर्छु भन्नु नै प्रधानमन्त्री ओलीको नियत ठीक नभएको बताए। उनले देउवाका आँखा र कान तगडा रहेको भन्दै आफ्नो डरको ढाल देउवालाई नबनाउन पनि प्रधानमन्त्री ओलीलाई सुझाए।
उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा, त्रिभुवन विश्वविद्यालयको जग्गाजस्ता प्रकरणमा प्रश्न गरे। पछिल्ला सात महिनामा सरकारले जनताको केही पनि आवाज नसुनेको भन्दै जनता पनि सरकारलाई नसुन्ने ठाउँमा पुगेको उनको भनाई छ।
सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको सन्दर्भमा कांग्रेसको वैचारिकीमाथि प्रश्न गर्दै उनले भने, ‘के हो यो सामाजिक सञ्जाल नियमन विधेयक? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो। आज कता हुनुहुन्छ? तपाईंहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो? के हो तपाईंहरूको वैचारिकी?
साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो।
‘यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रू ५४,००,०००।- (चौवन्न लाख रुपैयाँ धरौट वा जमानत वा बैंक जमानत लिनू),’ आदेशमा भनिएको छ।
कमलपोखरीस्थित शान्दार मःमः पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट घाइते भएका ११ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन्। उनका अनुसार घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।
विद्यार्थीहरूले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरू गरेको केही घन्टापछि सयौं बङ्गलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन्। हसिनाले अगस्ट ५ मा हेलिकोप्टरबाट पुरानो मित्रराष्ट्र भारततर्फ उडान भरेको ठीक छ महिनापछि बुधबार राति हथौडा र धातुका डन्डा बोकेको भीडले राजधानी ढाकाको भवनको पर्खालहरू भत्काउन थाल्यो।
अब उकेरामा प्रकाशित टप फाइभ समाचार
चार दशकअघि रेडियो नेपालबाट निकै लोकप्रिय भएको गीत ‘दुःखहरू बिर्सु भन्छु’ अरुण थापाले गाए। वि.सं. २०४१ मा रेडियो नेपालमा रेकर्ड भएको यो गीत आज पनि बेला-बेलामा सुनिन्छ। पुराना पुस्ताले विशेष रूपमा मन पराएका यस गीतका संगीतकार वसन्त मुकारुङ हुन्।
सयौं गीतमा संगीत गरेका उनलाई राजेश पायल राईले गाएको ‘बैगुनी रैछौ मायालु, मीठो बोली बोल्ने’ गीतले झनै चर्चामा पुर्यायो। यतिका वर्षमा उनले देखेका, भोगेका र अनुभवबारे हिजोका कुराकानीमा यसरी सुनाएः
पूरा समाचार: संगीतकार वसन्त मुकारुङका हिजो कुरा : पहिलेका गीत अजम्बरी थिए, अहिलेका त दुई महिना पनि टिक्न छाडे
बिहीबारको प्रतिनिधि सभा बैठकमा अन्तर्जातीय विवाह गर्ने सर्लाहीका सत्यन्द्रकुमार राम (चमार) र नेहा रौनियारको घटनामा गृहमन्त्री र प्रहरीको भूमिकालाई लिएर सांसदहरूले प्रश्न उठाए। बैठकको आकस्मिक समय र शून्य समयमा बोल्दै सांसदहरूले गृहमन्त्रीकै निर्देशनमा उक्त जोडीमाथि अत्याचार भएको भन्दै उनको आलोचना गरे। यसरी आलोचना गर्नेहरूमा सत्तापक्ष र विपक्षी दुवै पक्षका दलित सांसदहरू थिए।
सिंगो बैठक नै सत्यन्द्र र नेहाको अन्तर्जातीय विवाहका सन्दर्भमा केन्द्रित रहेजस्तो देखिँदा बैठकमा बोलेका गैरदलित सांसदले भने यो विषयमा बोल्दै बोलेनन्। 'दलितको मुद्दा दलितले उठाउनुपर्ने'जस्तो गरेर प्रस्तुत भएका थिए गैरदलित सांसदहरू।
पूरा समाचार: सत्ययन्द्र र नेहाको अन्तर्जातीय विवाह : सत्तापक्ष र विपक्ष दलित सांसदको एकै स्वर, गैरदलित सांसद मौन
मुक्कुमलुङ (पाथीभरा) पुग्न केबलकार निर्माण राम्रो कि नराम्रो भन्ने विवाद बढ्दै जाँदा प्रदर्शनकारीमाथि जब गोली चल्यो यो स्थानीय मात्रै सरोकार भएन। राष्ट्रिय भयो। केबलकार विपक्षमा उभिएका स्थानीयमाथि माघ १२ मा गोली चल्दा राज्यले चरम दमन गरेको सन्देश फैलियो।
स्थानीय तहमै विरोध प्रदर्शनमा लिम्बु जातीय र धार्मिक सङ्गठनका अभियन्ताहरू सक्रिय नै थिए। विरोधमा उत्रिएकाहरूमध्ये केही केबलकार निर्माणको पक्षमा थिए तर सर्त धार्मिक आस्थाको सम्मानसहित। अर्को पक्ष मुन्धुम र मुन्दुमी भूमि रहेकाले डाँडा चलाउनै नहुने पक्षमा उभिएका थिए।
पूरा समाचार: कोशीको नामकरणमा फ्लप ‘जातीय पहिचान राजनीति’को ट्रायल मुक्कुमलुङमा !
पुल्चोक इन्जिनियरिङ क्याम्पसले इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयलाई झुक्काएर परिसर भित्रको भवन गोल्छा समूहको निजी कलेजलाई भाडामा दिएको खुलेको छ।
पुल्चोक इन्जिनियरिङ कलेजले आफ्नो भवन इम्बार्क कलेजलाई भाडा दिएकोबारे उकेराले बुधवार समाचार प्रकाशित गरेको थियो। यसबारे डिन कार्यालयसँग कार्यालय प्रमुख सुशील बज्राचार्यले बैंक वा फाइनान्स लगायतलाई भाडामा दिए पनि अर्को शैक्षिक संस्थालाई भने नदिन भनेको बताए।
पूरा समाचार: पुल्चोक इन्जिनियरिङ क्याम्पस भाडा प्रकरण : डिन कार्यालयलाई झुक्काएर निजी कलेजलाई भाडामा
अमेरिकी सैन्य विमान सी१७ ग्लोबमास्टर बुधबार दिउँसो १ बजे १०४ अवैध आप्रवासी बोकेर भारतको अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यो। ११ जना चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू पनि सँगै आएको उक्त विमानमा भारतको पञ्जाब राज्यका ३०, हरियाणा र गुजरातका ३३-३३ जना सवार थिए।
अमृतसर विमानस्थलका सुरक्षा अधिकारीहरूका अनुसार यी व्यक्तिहरूको प्रमाणीकरण गरिएको थियो। यहाँबाट, अध्यागमन र भन्सारबाट क्लियरेन्स पछि उनीहरूलाई पञ्जाब प्रहरीको जिम्मा लगाइएको थियो। पञ्जाबबाट निकालिएका मानिसहरूलाई प्रहरीको गाडीमा घर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाए।
पूरा समाचार: अमेरिकाबाट निकालिएका १०४ भारतीय आप्रवासी अष्ट्रेलिया र युकेसहित २० देश जान नपाउने
माघ २४, २०८१ बिहीबार २१:५६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।