पुल्चोक इन्जिनियरिङ क्याम्पस भाडा प्रकरण : डिन कार्यालयलाई झुक्काएर निजी कलेजलाई भाडामा

पुल्चोक इन्जिनियरिङ क्याम्पस भाडा प्रकरण : डिन कार्यालयलाई झुक्काएर निजी कलेजलाई भाडामा

काठमाडौँ : पुल्चोक इन्जिनियरिङ क्याम्पसले इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयलाई झुक्काएर परिसर भित्रको भवन गोल्छा समूहको निजी कलेजलाई भाडामा दिएको खुलेको छ।

पुल्चोक इन्जिनियरिङ कलेजले आफ्नो भवन इम्बार्क कलेजलाई भाडा दिएकोबारे उकेराले बुधवार समाचार प्रकाशित गरेको थियो। यसबारे डिन कार्यालयसँग कार्यालय प्रमुख सुशील बज्राचार्यले बैंक वा फाइनान्स लगायतलाई भाडामा दिए पनि अर्को शैक्षिक संस्थालाई भने नदिन भनेको बताए।

सरकारी शैक्षिक संस्थाको परिसरभित्र अर्को निजी शैक्षिक संस्था खोल्नु ठिक हैन भन्दै उनले उकेरासँग भने ‘ 'नियमावली सिधै दिन मिल्दैन त भनेको छैन। तर सामान्यतया शैक्षिक संस्थालाई नदिँदा नै  राम्रो हुन्छ। हामीले बैंक वा फाइनान्सलाई दिनु भनेका थियौँ।'

यस अगाडि सो भवन नबिल बैंकले भाडामा लिएको थियो। दुई वर्ष अगाडि नबिलले सो भवन छाडेको थियो। त्यसपछि क्याम्पस प्रशासनले सो भवन र परिसर व्यवस्थापन सम्बन्धी पढाइ हुने गोल्छा समूहको इम्बार्क कलेजलाई भाडामा दिएको थियो।

क्याम्पस प्रमुख इन्द्र आचार्यले उकेरासँग बुधवार बोलपत्रबाट महिनाको १८ लाख तिर्ने सर्तमा गोल्छाले टेन्डर पाएको जानकारी दिए पनि सम्झौता पत्र भने दिन अस्वीकार गरे।

डिन बज्राचार्यले भवन भाडामा दिने बारे क्याम्पसले डिन कार्यालयसँग समन्वयन भने गरेको खुलाए। उनीहरुले भाडाका लागि अनुमती मागे पनि कुन प्रयोजनका लागि भन्ने नखुलाएको उनले बताए।

'क्याम्पसबाट त्यो भवन भाडामा दिन अनुमति माग भएको थियो । मैले हुन्छ भनेको हुँ। के प्रयोजनका लागि भन्ने खुलाइएको थिएन।' उनले भने।

उकेराले उनलाई एक शैक्षिक संस्था भित्र अर्को शैक्षिक संस्था खोल्न मिल्छ त भन्ने प्रश्न राखेको थियो। त्यसमा उनले भने ‘मलाई पनि मिल्छ जस्तो लाग्दैन।’

माघ २४, २०८१ बिहीबार २१:३४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।