सत्येन्द्र र नेहाको अन्तर्जातीय विवाह : सत्तापक्ष र विपक्ष दलित सांसदको एकै स्वर

सत्येन्द्र र नेहाको अन्तर्जातीय विवाह : सत्तापक्ष र विपक्ष दलित सांसदको एकै स्वर

काठमाडौं : बिहीबारको प्रतिनिधि सभा बैठकमा अन्तर्जातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारको घटनामा गृहमन्त्री र प्रहरीको भूमिकालाई लिएर सांसदहरूले प्रश्न उठाए।

बैठकको आकस्मिक समय र शून्य समयमा बोल्दै सांसदहरूले गृहमन्त्रीकै निर्देशनमा उक्त जोडीमाथि अत्याचार भएको भन्दै उनको आलोचना गरे। यसरी आलोचना गर्नेहरूमा सत्तापक्ष र विपक्षी दुवै पक्षका दलित सांसदहरू थिए।

सिंगो बैठक नै सत्यन्द्र र नेहाको अन्तर्जातीय विवाहका सन्दर्भमा केन्द्रित रहेजस्तो देखिँदा अधिकांश गैरदलित सांसदले भने यो विषयमा बोल्न जरुरी नै ठानेनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले अधिकांश गैरदलित सांसदले दलितको मर्म नबुझेरै कुरा नउठाउनु राजनीतिक दलहरूको अँध्यारो पाटो भएको बताए।

संसद् बैठकपछि उनले उकेरासँगको कुराकानीमा भने, 'धेरै सांसदले त दलितको मुद्दा नै बुझ्दैनन् अनि धेरैले चाहिँ बुझेर पनि बुझ पचाइरहेका छन्। यो दलहरूले हात्तीको चपाउने र देखाउने दाँत भनेजस्तै कुरुप चरित्र हो।'

दलित सांसदको एकै स्वर- १४ प्रतिशत जनसंख्याको शीर निहुरियो 
बैठकमा सत्तापक्ष एमाले सांसद हर्कमाया विकले सत्यन्द्र र नेहालाई अन्तर्जातीय विवाह गरेकै कारण राज्यले ज्यादती गरेको आरोप लगाइन्।

'यस घटनाले जातीय विभेद मात्रै होइन। यसमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अन्याय गरेको छ,' उनले भनिन्।

विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्यशक्तिको दुरूपयोग गरेर जबर्जस्ती छुट्याउन खोजेको आरोप छ।

अन्तर्जातीय विवाह भएकै कारण अदालतले पनि विवाह दर्ता नै नहेरी धरौटी माग गर्नेदेखि लिएर प्रहरीले धरपकड गरेको भन्दै उनले थपिन्, 'अन्तर्जातीय विवाह गर्नेलाई राज्यले लखेटी-लखेटी छुट्याउन खोज्यो।'

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले गृहमन्त्रीकै आदेशमा प्रहरीले अन्तर्जातीय विवाह गरेको जोडीमाथि ज्यादती गरेको आरोप लगाए। 

जिल्ला अदालतमा विवाह दर्ता भइसकेको अवस्थामा बालविवाह, मानव बेचबिखन र लागुऔषधजस्ता झुटा मुद्दा लगाएर ज्यादती गर्ने काम भएको उनको भनाइ छ।

सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मूख्य आरोपी जिबी राईजस्ता फरार अभियुक्तलाई पक्राउ गर्न नसक्ने प्रहरीले एउटा निरीह जोडीलाई पक्राउ गर्न विदेश गएको भन्दै उनले आक्रोश व्यक्त गरे। 

बरालीले भने, 'जिबी राईजस्ता मान्छेलाई पक्राउ गर्न नसक्ने प्रशासन (गृह)ले निरीह दलित दम्पतीलाई पक्राउ गरेर बडो बहादुरी देखायो।’ 

प्रेमविवाह गरेर घुम्न गएका जोडीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशनमा मुम्बईसम्म प्रहरी पठाएको भन्दै उनले थपे, 'जबकी गम्भीर अपराधका घटनामा मात्रै गृहममन्त्रीको स्वीकृतिमा प्रहरी विदेश पठाउने गरिन्छ।' 

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले यही घटनालाई लिएर सरकार हात्तीको दाँतजस्तै लाग्न थालेको बताए। 

'प्रेम विवाह गरेकै कारण सत्येन्द्रमाथि बालविवाह, मानव तस्करी, लागुऔषध ओसारपसार मुद्दाको झुट्टा मुद्दा लगाउने धम्की दिएर दबाउन खोजियो। बाध्य भएर मानवअधिकार आयोगमा उजुरी दिए। सर्वोच्चले नेहालाई सत्येन्द्रकै जिम्मा लगाउने आदेश दियो। के सरकार संविधान भन्दा माथि हो? सरकारले दलित समुदायको संविधान प्रदत्त हकको रक्षा गर्नुपर्ने हो या जातीय विभेदलाई स्थापित गर्ने हो। यो घटनाले देखाएको छ,' उनले भने।

शक्तिको दुरूपयोग गर्ने र जातीय भेदभावलाई मौलाउने र संविधानको धज्जी उडाउने प्रवत्ती सरकारमै रहेको नेपालीको भनाई छ।

सत्तारूढ कांग्रेस सांसद शान्ति विकले भने अन्तर्जातीय विवाहको विषयमा भ्रम फैलाएर गृहमन्त्री लेखकको चरित्र हत्या गर्न खोजिएको बताइन्।

यद्यपि अन्तर्जातीय विवाहकै कारण सत्येन्द्रमाथि प्रहरीले गरेको व्यवहार ६० लाख दलित समुदाय माथिको चोट रहेको उनले बताइन्। उनले अन्तर्जातीय विवाह गर्ने जोडीको जीवनको सुरक्षाको माग गरिन्। 

'हामीले अझै पनि यो जातीय विभेदको गहिराइमा कहिलेसम्म डुबिराख्नुपर्ने हो? यो घटना सत्यतथ्य के हो गृहमन्त्रीज्यूले प्रष्ट पारिदिनुपर्छ,' उनले भनिन्।

शून्य समयमा बोल्ने सांसदहरूले पनि यस घटनामा गृहमन्त्रीको निर्देशनमा उक्त जोडीलाई अत्याचार गर्ने काम भएको बताएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले गृहमन्त्रीको निर्देशनमा प्रहरीले बर्दीको दुरूपयोग गरेर उक्त जोडीलाई छुट्याउन लागेको बताइन्। यस्तो मानव अधिकार हनन भएको ग्यास घटनाले सिंगो दलित समुदायलाई चोट पुर्याएको उनको भनाई छ। 

कांग्रेस सांसद आशा विकले सर्लाहीको उक्त घटनाले देशकै शीर निहुरिएको भन्दै आजसम्म दलित समुदायका युवाहरूलाई यसैगरी फसाइएको बताइन्। आज उप्रान्त देशभरी जातीय विभेद विरुद्धका घटना तुरुन्त दर्ता गर्नुपर्ने उनको माग छ। 
  
शून्य समयमै बोल्दै ईश्वर बहादुर थापा, जीवन परियार, उर्मिला माझी, चन्द्र बहादुर विश्वकर्माले पनि यस घटनामा गृहमन्त्रीको जवाफ मागेका थिए। 

विपक्षीको रूपमा प्रचण्डदेखि वर्षमानसम्म
प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसदलाई सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्जातीय विवाह गर्ने जोडीलाई राज्यबाट प्रताडित गर्ने काम लज्जास्पद भएको बताए। सरकारले दलितको हक कार्यान्वयनमा सरकारको रूचि नदेखिएको उनको भनाई छ। 

उनले भने, 'आज यहाँ धेरै माननीय सदस्यज्यूहरूले गम्भीर रूपमा विषय उठाउनुभयो, अदालती विवाहको प्रमाण हुँदासमेत अन्तर्जातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरी प्रताडित गर्ने काम भएको छ, योभन्दा लज्जास्पद कुरा अरू के हुन सक्छ?' 

त्यसैगरी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि अन्तर्जातीय विवाह गर्ने दलित युवामाथि भएको अत्याचारको विषयमा गृहमन्त्रीसँग स्पष्ट जवाफ मागे। 

गृहमन्त्रीले घटनाबारे स्पष्ट जवाफ नदिएको भन्दै पुनले भने, ‘सर्लाहीको जोडी सत्येन्द्र र नेहाको वैवाहिक प्रश्नमा गृहमन्त्रीजीले उठेका प्रश्नहरूको जवाफ दिनुभयो। तर, एउटा कुराको जवाफ आएन कि भारत पुगेर एकजना एसपी र एक हवल्दारसहितको टोलीले गिरफ्तार गरेर ल्याएको, त्यसमा गृहमन्त्रीजीको संलग्नता भएको भन्ने कुराहरू उठेका छन्। त्यसबारेमा जवाफ आएन।’

गृहमन्त्रीले गरे आफ्नै बचाउ 
गृहमन्त्री लेखकले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए। भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनको दाबी छ। 

आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछूतविरुद्ध रहेको भन्दै उनले अन्तर्जातीय विवाहविरुद्ध आफू नरहेको बताए। 

'अन्तर्जातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ। गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो। मन्त्रालयबाट यो विषयलाई प्रस्ट पारिएको छ, उनले भने।

गृहमन्त्री लेखकले समाचारमा सत्यता नरहेको भन्दै झारो टार्ने किसिमको जवाफ दिए। 

तर, गृहमन्त्री लेखकले सांसदले उठाएका प्रश्नहरूको मूर्त जवाफ भने दिएनन्। जस्तो, प्रहरीलाई निर्देशन दिएर भारत पठाएको, उक्त जोडीलाई प्रहरी लगाएर अहिलेसम्म पनि धम्क्याइरहेकोलगायतका विषयमा भने गृहमन्त्रीको कुनै जवाफ आएन। 

माघ २४, २०८१ बिहीबार २०:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।