इटहरी उपमहानगरपालिकामा एमाले उपमेयरले लगाएको ताल्चा कांग्रेसका मेयरले काटिदिँदा विवाद बढ्यो

इटहरी उपमहानगरपालिकामा एमाले उपमेयरले लगाएको ताल्चा कांग्रेसका मेयरले काटिदिँदा विवाद बढ्यो

इटहरी : प्रशासन शाखामा उपमेयर संगीताकुमारी चौधरीले लगाइएको ताला मेयर हेमकर्ण पौडेलले फुटाइदिएपछि इटहरी उपमहानगरपालिकामा मेयर-उपमेयरबीच विवाद बढेको छ। इटहरीमा मेयर कांग्रेसका हुन भने उपमेयर सहितका बहुमत कार्यपालिका एमालेका छन्।

माघ ११ मा उपप्रमुख चौधरीसहितका एमालेबाट निर्वाचित वडाध्यक्षहरूले उपमहानगरपालिकाको प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा ताल्चा लगाइदिएका थिए।

तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख पौडेलले ताल्चा फुटाइदिए। त्यसपछि उपमेयर र एमालेबाट निर्वाचित वडाध्यक्षहरू मेयरविरुद्ध केन्द्रित भएका छन्।

उनीहरूले मेयरले ‘दादागिरी’ गरेको भन्दै मेयरकै कार्यकक्षमा ताल्चा लगाउने चेतावनी दिइरहेका छन्। उपमहानगरपालिकाकी उपमेयर चौधरी मेयरको दादागिरी शैलीमा ताल्चा तोडिएको तर समस्या समाधान नभएको भन्दै यदि समस्या समाधान नभए मेयरकै कार्यकक्षमा ताल्चा लगाउने चेतावनी दिइन्।

विवाद के हो ?

कर्मचारी सरुवाको विषयमा उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधि असन्तुष्ट छन्। पुस २८ मा मेयर पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले कर्मचारीको सरुवा गरेका थिए। सो सरुवामा कांग्रेसले जितेका वडाबाहेकका कर्मचारी चलाएको भन्दै एमाले विपक्षमा उभियो।

कर्मचारी सरुवाको निर्णय गरेर मेयर पौडेल भारत गए। यता कार्यवाहक भएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाँकेर सरुवाको निर्णय उल्टायो।

मेयर पौडेल उल्टिएको निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन्। उपमेयरको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख सञ्जीव खड्कालाई नै कारबाहीको लागि सिफारिस समेत गरेको थियो।

शाखा प्रमुख खड्का सातौँ तहमा बढुवा भएर सुनसरीकै देवानगञ्ज गाउँपालिकामा सरुवा भइसकेका छन्। ताल्चा लगाएपछि उपमहानगरपालिकाका कर्मचारीहरू समेत आन्दोलनमा उत्रिए।

प्रमुख पौडेलले ताल्चा फुटाएपछि कर्मचारीले आन्दोलन फिर्ता लिए। तर उपमेयरसहित एमालेका जनप्रतिनिधि भने अझै सहमतिमा आएका छैनन्।

माघ २४, २०८१ बिहीबार १८:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।