साहारा चितवन सहकारी ठगी प्रकरण : रविलाई ५४ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो।
‘यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुज्दै जाँदा ठहरे बमोजिम हुने गरी तत्काल प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रू ५४,००,०००।- (चौवन्न लाख रुपैयाँ धरौट वा जमानत वा बैंक जमानत लिनू),’ आदेशमा भनिएको छ।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालय चितवनले मङ्गलबार रविसहित १५ जनाविरूद्ध मुद्दा दर्ता गराएको थियो। व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।
प्रतिवादीहरूमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन्।
यसअघि असोज ८ मा दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए। त्यो समयमा रवि लामिछाने किटान गरिएको थिएन। मङ्गलबार दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचत सहित छ वटा संस्था रहेका हुन्।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिए।
मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो। सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएका जीवि राई भन्ने जीबी राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्त बाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन्।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ।
हाल जाहरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन माग दाबी गरिएको विश्वकर्माले जानकारी दिए। ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका वखत पुनःपुरक अभियोग जाहेर हुने गरी अभियोग दाबी गरिएको छ।
बचतकर्ताहरूलाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम ४३ करोड ३२ लाख सात हजार नौ सय २८ दशमलव ७५ रहेको छ। व्यक्तिगत रूपमा जीवि राईबाट ४१ लाख ३० हजार, असर फ अलि सिद्दिकीबाट तीन करोड २० लाख र महेन्द्र भोटी भन्ने शिवबहादुर गुरूङबाट दुई करोड ६४ लाख भराइनुपर्ने माग दाबी छ।
रवि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि पुस २५ मा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
फेरि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा उनी ६० लाख रुपैयाँ धरौटीमा माघ २ मा रिहा भए।
त्यसको ११ दिनपछि रवि रूपन्देही जिल्ला अदालतको आदेशपछि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए।
माघ २४, २०८१ बिहीबार १७:५२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।