सर्लाहीको अन्तर्जातीय विवाह : गृहमन्त्रीकै निर्देशनमा यातना दिइएको भन्दै कांग्रेस पार्टी कार्यालय घेर्ने चेतावनी

सर्लाहीको अन्तर्जातीय विवाह : गृहमन्त्रीकै निर्देशनमा यातना दिइएको भन्दै कांग्रेस पार्टी कार्यालय घेर्ने चेतावनी

काठमाडौं : दलितका लागि दलित अभियानले सर्लाही घटनामा गृहमन्त्रीको राजीनामा माग गर्दै बिहीबार पनि विरोध प्रदर्शन गरेको छन्।

गत मंगलबारदेखि अभियानले अन्तर्जातीय प्रेमविवाह गरेका सर्लाहीका दलित युवा सत्येन्द्रकुमार रामलाई गृहमन्त्रीकै प्रत्यक्ष संलग्नतामा यातना दिइएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दै आइरहेको छ।

अभियन्ता खगेन्द्र सुनारले जनताको जिउधनको सुरक्षाको जिम्मा लिएर बसेको संस्थाको प्रमुख र नेतृत्वबाट भएको अपराध क्षमायोग्य नहुने भन्दै गृहमन्त्रीले राजीनामा दिएर मात्र पनि नहुने बताए। 

उनले भने, ‘गृहमन्त्रीले अपराध गरेका छन्। ६० लाख दलितसँग गृहमन्त्री डराउनु पर्दैन? १६० जना राउटे समुदायको आन्दोलन हो र यो? त्यो सत्येन्द्रकुमार चमार भन्ने केटोले गरेको अपराध के हो? नवराज विक, सेते दमाईहरूले गरेको अपराध के हो? यो विषय गृहमन्त्रीले ढाकछोप गरेर ढाकिँदैन, अब गृहमन्त्रीले राजीनामा दिएर मात्र सकिँदैन।’  

त्यस घटनामा गृहमन्त्री रमेश लेखक मात्र नभएर प्रहरी प्रशासन पनि दोषी रहेको भन्दै उनले थपे, ‘प्रहरी संगठन जनताको जिउधनको सुरक्षा जिम्मा लिएर बसेको प्रहरी प्रमुखबाट भएको अपराध क्षम्य छैन। प्रहरीले यसको बिरुद जाहेरी लिनुपर्छ। यो कुनै तानाशाहको प्रहरी होइन, राजाको प्रहरी होइन। जनताको प्रहरी हो।’

उनले नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई कांग्रेसले दलितमाथि गरेको अपराधमा कांग्रेसको धारणा के हो भनेर प्रश्न गर्ने पनि बताए। 

उनले भने, ‘पहिला प्रहरीमा जाने, प्रहरीले नहेरे अदालत जाने अनि भोलि नेपाली कांग्रेसको पार्टी कार्यालयमा गैर विश्वप्रकाश र गगन थापालाई कांग्रेसले दलितमाथि गरेको अपराधमा कांग्रेसको धारणा के हो, दलितलाई हेर्ने नजर के हो भनेर सोध्ने छौं।’

माघ २४, २०८१ बिहीबार १६:४५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।