सामाजिक सञ्जाल नियमन विधेयकमा प्रचण्डको विरोध, कांग्रेसलाई सोधे 'तपाईंहरू पनि ओलीजी जस्तै भइसक्नु भएको?'

सामाजिक सञ्जाल नियमन विधेयकमा प्रचण्डको विरोध, कांग्रेसलाई सोधे 'तपाईंहरू पनि ओलीजी जस्तै भइसक्नु भएको?'
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार कांग्रेसको वैचारिकीमा प्रश्न गरेको छन्। 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकको सन्दर्भमा कांग्रेसको वैचारिकीमाथि प्रश्न गरे।

‘मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई। के हो यो सामाजिक सञ्जाल नियमन विधेयक? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो। आज कता हुनुहुन्छ? तपाईंहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो? के हो तपाईंहरूको वैचारिकी?, उनले सोधे। 

तर, प्रधानमन्त्री केपी शर्मा ओली अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु अनौठो नभएको प्रचण्डको भनाई छ। 

‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न। यो पटकपटक प्रमाणित तथ्य हो। उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी एमाले जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ। त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ’ अध्यक्ष प्रचण्डले भने, ‘यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो। त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ।’
 
माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने कांग्रेस नेताहरूको अहिले बोलि फेरिएको भन्दै उनले भने, ‘कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरूले धेरै ताली खाए। पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुई वटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए। देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईंहरूले नयाँ सत्तागठबन्धन गर्नुभयो। तर, गत स्थानीय निकायको उपचुनावमा के भयो?’ 

प्रचण्डले गएको स्थानीय तह उपनिर्वाचनमा दुई ठूला दलले एकअर्कालाई आफ्ना चुनावचिन्ह भाडामा पनि दिएको भन्दै व्यंग्य गरे। 

कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पत्रकार र अरू व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो। तपाईंहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ। सकियो त?’

माघ २४, २०८१ बिहीबार १६:३२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।