ओलीलाई प्रचण्डको सुझाव 'शेरबहादुरजीका कान र आँखा तगडा छन्, धेरैपटक सरकार सम्पिन्छु भनिरहनु पर्दैन'

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु भन्ने प्रधानमन्त्री केही शर्मा ओलीको नियतमै शंका भएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले पटक-पटक देउवालाई सरकार हस्तान्तरण गर्छु भन्नु नै प्रधानमन्त्री ओलीको नियत ठीक नभएको बताए।
उनले देउवाका आँखा र कान तगडा रहेको भन्दै आफ्नो डरको ढाल देउवालाई नबनाउन पनि प्रधानमन्त्री ओलीलाई सुझाए।
'शेरबहादुरजीका कान र आँखा तगडा छन्, धेरैपटक भनिरहनु पर्दैन। उहाँ राम्रोसँग सुन्न र बुझ्न सक्नुहुन्छ, प्रचण्डले भने।
प्रधानमन्त्री ओलीले चालु हिउँदे अधिवेशनको पहिलो बैठकमा माघ १८ मा सरकार ढलोस् भनेर कामना गर्नेले धेरै कामना नगर्दा हुने बताएका थिए। उनले 'म त ढलेँ ढलेँ' गीत स्मरण गर्दै त्यस्तै 'सधैँ ढल्यो ढल्यो' भन्ने अत्मरतिमा नरमाउन आग्रह गरेका थिए।
जवाफमा प्रचण्डले आफूले सरकार ढाल्ने बताएको दाबी गरे।
'प्रधानमन्त्रीजीले यही सदनमा ढलेँ ढलेँ गीत गाउनुभयो। तर, सरकार ढल्दैन भने हरेक दिन यो सरकार कहिलेसम्म चल्छ र त्यसपछि शेरबहादुरजीलाई दिन्छु किन भन्नुपर्यो? मैले यो गठबन्धन प्राकृतिक छैन भनेको छु। मैले सरकार ढाल्छु भनेको त छैन नि, यो सरकार ढल्छ भनेको हुँ, उनले भने।
माघ २४, २०८१ बिहीबार १५:३०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।