जसपा नेपालको समर्थनसहित अध्यादेश पारित हुने कांग्रेसको दाबी

जसपा नेपालको समर्थनसहित अध्यादेश पारित हुने कांग्रेसको दाबी

काठमाडौं : नेपाली कांग्रेसले जनता समाजवादी नेपालको समर्थनसहित सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेको छ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरू परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताए।

उनले भने, ‘आज अध्यादेश पेश हुन्छ। ५१ वटा अस्वीकारका सूचनाहरू परेका छन्। यो सबैमाथि छलफल हुन्छ। छलफल भएर अस्वीकारका सूचनाहरूलाई अस्वीकार गरिने छ। त्यसपछि यो अध्यादेश स्वीकृत हुन्छ। पारित हुनेमा ढुक्क छौँ।’

उनले जसपा नेपालले समर्थन गर्नेमा कांग्रेस ढुक्क रहेको समेत बताए।

उनले थपे, ‘जसपा नेपालले समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले पनि सत्ता पक्षको बेन्चमा बसेको छ। उहाँहरूको समर्थनसहितले यो अध्यादेश पनि पारित हुन्छ।’

उनले संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेको र उक्त भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र सकारात्मक भएको पनि जानकारी दिए।

माघ २४, २०८१ बिहीबार १३:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।