अमेरिकाले भन्यो- अमेरिकी जहाजहरू अब पनामा नहरबाट नि:शुल्क आवतजावत गर्न सक्छन्

अमेरिकाले भन्यो-  अमेरिकी जहाजहरू अब पनामा नहरबाट नि:शुल्क आवतजावत गर्न सक्छन्

एजेन्सी : अमेरिकी विदेश विभागले पानामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्नु नपर्ने बताएको छ।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै यसले हरेक वर्ष अमेरिकाको लाखौं डलर बचत हुने भनिएको छ।

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी दबाबपछि अमेरिकी जहाजहरूलाई नि:शुल्क रूपमा पनामा नहरबाट जान अनुमति दिइएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्य अमेरिकाको भ्रमणको क्रममा आइतबार पानामाका राष्ट्रपति जोसे राउल मुलिनोसँग भेट गरेका थिए।

यसका अलावा अमेरिकी रक्षा सचिव पिट हेगसेथ र पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले बुधबार एक फोनवार्तामा अमेरिकी सेना र पानामाको सुरक्षा बल बीचको सहकार्य विस्तार गर्न सहमति जनाएको समेत पेन्टागनले जनाएको छ।

अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा चीनले पनामा नहर सञ्चालन गरिरहेको दाबी गरेका थिए।

पनामा नहरबाट गुज्रने अमेरिकी जहाजहरूबाट लिइने ‘ठूलो’ शुल्कको सम्बन्धमा कुरा गर्दै उनले बल प्रयोग गरेर यसलाई अमेरिकाको हातमा ल्याउने धम्कीसमेत दिएका थिए।

उनले भनेका थिए,‘चीनले पानामा नहर सञ्चालन गरिरहेको छ र हामीले यो चीनलाई दिएका छैनौँ। हामीले यो पानामालाई दियौं र हामी यसलाई फिर्ता लिन्छौँ।’

८२ किलोमिटर लामो पानामा नहर मध्य अमेरिकाको मध्य भागबाट बग्छ र प्रशान्त र एट्लान्टिक महासागरहरूलाई जोड्ने काम गर्छ।

प्रत्येक वर्ष लगभग १४ हजार जहाजहरूले यस नहरलाई सर्टकटको रूपमा प्रयोग गर्छन्। नहर बन्नुअघि ती जहाजहरूले दक्षिण अमेरिका हुँदै लामो र महँगो यात्रा गर्नुपर्थ्यो।

माघ २४, २०८१ बिहीबार ०९:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।