उकेरा टप फाइभ : भेरी अस्पतालको खरिदमा सतर्कताको छानबिनदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा गोल्छा समूहको प्रवेशसम्म

उकेरा टप फाइभ : भेरी अस्पतालको खरिदमा सतर्कताको छानबिनदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा गोल्छा समूहको प्रवेशसम्म

काठमाडौं : दलितका लागि दलित अभियानले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। मंगलबार नयाँपत्रिका दैनिकले गृहमन्त्री लेखकै निर्देशनमा अन्तर्जातीय प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले पटक-पटक पक्राउ गरी थुनामा राखेको समाचार सार्वजनिक गरेको थियो। 

त्यसपछि आज माइतीघर मण्डलामा सत्येन्द्रकुमार राममाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्व विरोध प्रदर्शन गरिएको हो। उनीहरूले 'दलित हिंसा गर्ने गृहमन्त्री राजीनामा दे, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर, जातीय हिंसा गर्ने गृहमन्त्री मुर्दावाद' जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। 

महिला त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजमा नेपालले लगातार पाँचौं खेलमा हार व्यहोरेको छ। काठमाडौंमा जारी सिरिजको आफ्नो पाँचौं खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो। नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।

जारी सिरिजमा यसअघि नेपाल चार खेलमा पराजित भइसकेको छ। दुई खेलमा नेदरल्यान्ड्ससँगै र दुई खेलमा थाइल्यान्डसँग पराजित नेपालको नेदरल्यान्ड्ससँग यो अन्तिम खेल हो।

काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्।

बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले आजका लागि हिरासत पठाउने आदेश गरेको छ। 

थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासत पठाइएको हो। चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णु आचार्यका अनुसार थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो। आज बिहान आफैं उपस्थित भएका लामिछानेको बयान सकिए लगत्तै थुनछेक बहस सुरू गरिएको थियो। 

अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार 

नेपालगन्जको भेरी अस्पतालले अगाडि बढाएको उपकरण खरिद प्रक्रिया शङ्कास्पद देखिएपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन प्रक्रिया अगाडि बढाएको छ। करिब एक करोडमा खरिद हुन लागेको पाँच सेट ‘इलेक्ट्रो सर्जिकल युनिट’लगायतको खरिद शङ्कास्पद देखिएको भन्दै सतर्कता केन्द्रले दुई हप्ता अघि भेरी अस्पतालबाट खरिद सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएर केन्द्रमा ल्याएको खुलेको हो।

सतर्कता छानबिनकै प्रक्रियामा छ। उता भेरी अस्पतालले ‘इलेक्ट्रो सर्जिकल युनिट’लगायतको खरिद प्रक्रिया रोकेको छैन। भेरी अस्पतालले २०८१ पुस २१ मा करिब एक करोडमा पाँच सेट ‘इलेक्ट्रोसर्जिकल युनिट’ र करिब  ५२ लाखमा एक सेट ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्टुमेन्ट्स सेट’ खरिदका लागि गरेको टेन्डर आह्वान गरेको थियो।
पूरा समाचार: भेरी अस्पतालको एक करोडको खरिद प्रक्रिया सतर्कता केन्द्रको छानबिनमा, अस्पताल भने टेन्डर दिने प्रक्रियामा

‘विद्धुतिय कारोबार ऐनको दफा ४७ हेरेको हो?’ २०६४ सालको मध्यतिर समाचार सङ्कलनका लागि तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौँको मुद्दा शाखामा पुग्दा एक डिएसपी तहका प्रहरी कर्मचारीले प्रश्न गरे।

‘त्यो त अनलाइन कारोबार खुलाउन ल्याएको कानुन हो। डिजिटल सिग्नेचरहरू लगायत के के छ रे भन्ने सुन्या हो।’ प्रस्तुत छ, केपी ढुंगानाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे लेखेको यो लेख। 
पूरा समाचार: ए सरकार, खुकुरीले मान्छे मार्दा अनि चिर्पटले हानेर मान्छे मार्दा किन एकै कानुन लाग्छ ?

पुल्चोक इन्जिनियरिङ क्याम्पस व्यवस्थापनले आफ्नो स्वामित्वको सम्पत्ति निजी क्याम्पसलाई भाडामा दिएको खुलेको छ। व्यवस्थापनले गोल्छा ग्रुपको इम्बार्क कलेजका लागि क्याम्पस परिसरको भवन भाडामा दिएको हो। यसको अध्यक्ष शेखर गोल्छा हुन्।

क्याम्पस प्रमुख इन्द्र आचार्यले बोलपत्र आह्वान गरेर गोल्छा ग्रुपलाई भवन भाडामा दिएको पुष्टि गरे। उनका अनुसार महिनाको १८ लाख तिर्ने सर्तमा गोल्छाले टेन्डर पाएको हो।
पूरा समाचार: पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवनमा गोल्छा समूहको निजी कलेज

राष्ट्रिय सभामा ३ जना मात्रै सांसद भएको जनता समाजवादी पार्टी नेपाल सरकारले ल्याएको अध्यादेश पारित गर्ने वा नगर्नेमा निर्णायक दल बनेको छ। सरकारले ल्याएको ६ वटा अध्यादेश जसपा नेपालकै कारण राष्ट्रिय सभामा अड्किने देखिएको छ। यस्तो अवस्थामा अहिले सत्तापक्ष र विपक्षी दुवैले जसपा नेपालको साथ खोजिरहेका छन्। 

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोनै गरेर अध्यादेशमा सहयोग गर्न आग्रह गरिसकेका छन्। विपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यादवलाई सम्पर्क गरेर अध्यादेशविरूद्ध उभिन भनिरहेका छन्। 
पूरा समाचार: राष्ट्रिय सभामा ३ सांसद भएको जसपा नेपालले सघाउँदा अध्यादेश पारित, नसघाउँदा अस्वीकृत, के गर्लान् उपेन्द्र?

‘खेलाडीले अत्यधिक दबाब महसुस गर्दा मलेसियासँग हार व्यहोर्नुपर्यो।’ गतवर्ष फागुनमा मलेसियामा भएको एसीसी महिला प्रिमियर कपमा घरेलु टोलीसँग चार विकेटले पराजित भएपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्ति हो यो।

मलेसियासँग पराजित हुँदा त्यतिबेला नेपालले एसिया कपमा छनोट हुने सुनौलो अवसर गुमाएको थियो। यद्यपि एसियन क्रिकेट काउन्सिलले आठ टिमलाई समावेश गर्ने भनेपछि नेपालले अन्तिम समयमा एसिया कप खेल्ने मौका पाएको थियो।
पूरा समाचार:  महिला क्रिकेट टोलीको ड्रेसिङ रुममा ‘शीतयुद्ध’, मिडियामै पोखिए खेलाडी र प्रशिक्षकबीचको अन्तर्विरोध

माघ २३, २०८१ बुधबार २१:३४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।