कोटीहोमका लागि भन्दै अवैध तरिकाले काटिएको बरपिपलका दाउरा पोखरा महानगरले गर्यो जफत

काठमाडौं : पोखरा महानगरपालिकाले कोटीहोमका लागि भन्दै अवैध तरिकाले महानगर क्षेत्रमा काटिएको बरपिपलका दाउरा जफत गरेको छ। लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा बुधबार महानगरले जफत गरेको हो।
मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरले जफत गरेको छ। मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो।
यता मानव सेवा फाउन्डेसनले आगामी चैत १७ देखि ४५ दिन लामो कोटीहोम लगाउने भन्दै पोखरा महानगर क्षेत्रभित्रका ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण ठानिएका बरपिपलका अवैध तरिकाले काटे पछि पोखरामा तरंग उत्पन्न भएको छ।
पोखराका स्थानीय बासिन्दा, सामाजिक अभियन्ता, वातावरणविद र धार्मिक व्यक्तित्वहरु सबै पोखरा महानगरपालिकाको क्षेत्रभित्र पर्ने ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण बरपिपल काट्ने जो कोहि भए पनि कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्नेमा एक मत देखिएका छन्।
तर धार्मिक संघ–संस्थामा आबद्ध व्यक्तिहरूले कोटीहोम लगाउँदा पोखरामा धार्मिक पर्यटक बढ्ने र यहाँको पर्यटनका बारेमा ब्यापक प्रचार-प्रसार हुने भएकाले प्रक्रिया पुर्याएर भए पनि मानव सेवा फाउन्डेसन वा अन्य जो कोही संघसंस्थालाई पोखरामा कोटीहोम गर्न दिनुपर्नेमा उभिएका छन्।
पोखरा महानगरपालिकाका मेयर आचार्यले पोखरामा कोटीहोम गर्न कोहि कसैले महानगरबाट स्वीकृति नलिएको जानकारी दिँदै स्वीकृत नलिई कोटीहोम गर्ने नदिने स्पष्ट पारे। उनले अनधिकृत रूपमा बरपिपलका रुख काट्नेलाई कानूनको दायरामा ल्याइने बताए।
पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलका प्रमुख प्रहरी निरिक्षक पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेसनले महानगरसँग स्वीकृति नलिई पोखरा १४, १३ र ६ नम्बर वडामा बरपिपलका रुख काटेर थुपारेकाले जफत गरिएको जानकारी दिए।
माघ २३, २०८१ बुधबार २०:५०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।