भेरी अस्पतालको एक करोडको खरिद प्रक्रिया सतर्कता केन्द्रको छानबिनमा, अस्पताल भने टेन्डर दिने प्रक्रियामा

भेरी अस्पतालको एक करोडको खरिद प्रक्रिया सतर्कता केन्द्रको छानबिनमा, अस्पताल भने टेन्डर दिने प्रक्रियामा

काठमाडौं : नेपालगन्जको भेरी अस्पतालले अगाडि बढाएको उपकरण खरिद प्रक्रिया शङ्कास्पद देखिएपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन प्रक्रिया अगाडि बढाएको छ।

करिब एक  करोडमा खरिद हुन लागेको पाँच सेट ‘इलेक्ट्रो सर्जिकल युनिट’लगायतको खरिद शङ्कास्पद देखिएको भन्दै सतर्कता केन्द्रले दुई हप्ता अघि भेरी अस्पतालबाट खरिद सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएर केन्द्रमा ल्याएको खुलेको हो।

सतर्कता छानबिनकै प्रक्रियामा छ। उता भेरी अस्पतालले ‘इलेक्ट्रो सर्जिकल युनिट’लगायतको खरिद प्रक्रिया रोकेको छैन। भेरी अस्पतालले २०८१ पुस २१ मा करिब एक करोडमा पाँच सेट ‘इलेक्ट्रोसर्जिकल युनिट’ र करिब  ५२ लाखमा एक सेट ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्टुमेन्ट्स सेट’ खरिदका लागि गरेको टेन्डर आह्वान गरेको थियो।

टेन्डर प्रक्रिया निश्चित कम्पनीको स्वार्थमा अगाडि बढेको सूचनाको आधारमा सतर्कता केन्द्रले टेन्डर प्रक्रियाका सबै कागजपत्रहरू फोटोकपी गरेर केन्द्रमा ल्याएर छानबिन गरिरहेको छ। उता अस्पताल प्रशासनले टेन्डर प्रक्रिया स्थगित नगरी अगाडि बढाएको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले दुवै टेन्डर पारदर्शी ढङ्गले नै अगाडि बढाइएको र सतर्कताले कागजपत्र लगे पनि टेन्डर प्रक्रियाबारे कुनै निर्देशन नदिएकाले प्रक्रिया नरोकेको उकेरालाई जानकारी दिए।

यसबारे केन्द्रसँग जिज्ञासा राख्दा योबारे अनुसन्धानकै चरणमा रहेकाले तत्काल केही जानकारी दिन नमिल्ने भन्दै सतर्कता केन्द्रका अधिकारी बोल्न मानेनन्।

फसिने बुँदा प्रिबिडबाट संशोधन

अस्पतालले ‘इलेक्ट्रोसर्जिकल युनिट’ र ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्टुमेन्ट्स सेट’ खरिदको प्रि–बिड मिटिङ माघ चार (२०२५, जनवरी १७) एक बजेलाई तोक्यो। तोकिएको मितिमा प्रि–बिड मिटिङ पनि भयो।

प्रिबिड बैठकपछि भेरी अस्पतालले खरिद प्रक्रियामा रहेको ‘इलेक्ट्रोसर्जिकल युनिट’को प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन गरेर माघ ६ (२०२५, जनवरी १९) मा सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा प्रकाशित गरेको देखिन्छ।

अस्पतालले प्रि–बिड मिटिङपछि ‘इलेक्ट्रोसर्जिकल युनिट’का केही बुँदा संशोधन गरे पनि गोलमटोल तरिकाले संशोधन गरेको देखिन्छ। टेन्डर कागजातमा संशोधित प्राविधिक स्पेशिफिकेशन छुट्टाउनै असहज हुने किसिमले संशोधन गरेको देखिन्छ।

अस्पतालले ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्ट्रुमेन्ट्स सेट’को भने स्पेशिफिकेशन संशोधन गरेन।

खरिद प्रक्रियामा रहेका ‘इलेक्ट्रोसर्जिकल युनिट’ र ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्ट्रुमेन्ट्स सेट’को टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति माघ २२ गते मङ्गलवार १२ बजे (२०२५, फेब्रुअरी ४)लाई तोकियो।

जसमध्ये ‘इलेक्ट्रोसर्जिकल युनिट’को टेन्डर खुल्ने समय मङ्गलवार दिउँसो एक बजे र ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्ट्रुमेन्ट्स सेट’को टेन्डर खुल्ने समय दुई बजेलाई तोकियो।

तोकिएकै समयमा मङ्गलवार टेन्डर खुलिसकेको छ। स्रोतका अनुसार ‘इलेक्ट्रोसर्जिकल युनिट’को टेन्डरमा चार वटा सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गरेका छन्। 

‘इलेक्ट्रोसर्जिकल युनिट’ खरिदका लागि काठमाडौँ ठेगाना भएको ‘सगरमाथा बायोमेडिकल इन्जिनियरिङ सर्भिसेस् कन्सर्न प्रालि’, दाङको धनगढी ठेगाना भएको ‘युनाइटेड मेडिको कन्सर्न प्रालि’, काठमाडौँ ठेगाना भएको ‘बायोमेड इन्टरनेश्नल प्रालि’ र काठमाडौँ नै ठेगाना भएको ‘नोभा बायोइन्टरमेडिक्स प्रालि’ गरी चार वटा सप्लायर्स कम्पनीले टेन्डर  प्रस्ताव गरेको खुल्यो।

‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्ट्रुमेन्ट्स सेट’को खरिदका लागि भने एउटा सप्लायर्स कम्पनीको मात्रै टेन्डर प्रस्ताव परेको देखियो। यी दुवै टेन्डरमा अस्पतालले ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ विधि अपनाइएको छ।

‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ भनेको ‘दुई खाम विधि’ हो। दुई खाम विधिमा सुरुमा टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीको प्राविधिक मूल्याङ्कन हुन्छ। 

प्राविधिक मूल्याङ्कनमा टेन्डर गर्ने संस्थाले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको स्पेशिफिकेशन अनुसारको प्राविधिक पक्षको मूल्याङ्कन गर्छ। प्राविधिक रूपमा एक भन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन सक्छन्। यस्तो विधिमा प्राविधिक मूल्याङ्कन भएपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ।

प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रैको आर्थिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनको चरणमा एक भन्दा बढी टेन्डर प्रस्ताव गर्ने कम्पनी छनोट भएको अवस्थामा जुन सप्लायर्स कम्पनीले कम मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने गरी रकम कबुल गरेर टेन्डर प्रस्ताव गर्छ उसैले टेन्डर पाउँछन् र निश्चित खरिदको प्रक्रिया पूरा गरी सामग्री ल्याइदिन्छन्।

अस्पतालले यी दुवै टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ (आइसिबी)को सट्टा ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) गरेर खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ।

अस्पतालले टेन्डर आह्वान गरेको ‘इलेक्ट्रोसर्जिकल युनिट’को ठेक्का (आइएफबी) नम्बर ‘बीएच-एसीबी-इएसयु-१०-२०८१-०८२’ हो भने ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्ट्रुमेन्ट सेट’को ठेक्का नम्बर ‘बीएच-एसीबी-इएसआइएस-११-२०८१-०८२’ हो।

सात दिन भित्र सामान ल्याउनुपर्ने सर्त

भेरी अस्पतालले एउटै प्याकेज बनाएर पाँच सेट ‘इलेक्ट्रोसर्जिकल युनिट’ खरिदका लागि प्रक्रिया अगाडी बढायो। तर, अस्पतालले ‘इलेक्ट्रोसर्जिकल युनिट’को टेन्डर पार्ने सप्लायर्स कम्पनीले टेन्डरको सम्झौता भएको सात दिनभित्र मेसिन ल्याइदिनुपर्ने सर्त राखेको थियो। यो नै सबैभन्दा शङ्कास्पद बुँदा।

स्पेशिफिकेशन (टेन्डर कागजात)को ‘डेलिभरी एन्ड कम्प्लेशन सेड्युल’ उपशीर्षकमा ‘७ डेज् फ्रम दी डेट अफ साइनिङ कन्ट्र्याक’ भन्ने सर्त राखिएको थियो।

नेपालमा यो स्वास्थ्य उपकरण बन्दैन। एनसिबी प्रक्रियामा टेन्डर अगाडि बढाए पनि जसले टेन्डर पार्छ उसले सो उपकरण नेपाल बाहिरैबाट ल्याउने हो। नेपाल बाहिरबाट सात दिनमा सामान ल्याउन सम्भवै छैन। यसले प्रारम्भमै पहिल्यै नेपालमा सामान ल्याएर राखेको सप्लायर्सको स्वार्थमा टेन्डर अगाडि बढाएको प्रस्टै देखिएको थियो।

यो सर्तले फस्ने देखिएपछि अस्पताल प्रशासनले सर्तलाई संशोधन गर्दै सामान दिने समय बढाएर ६० दिन पूर्यायो। प्रि–बिड मिटिङपछि ‘इलेक्ट्रोसर्जिकल युनिट’को टेन्डरको स्पेशिफिकेशन (टेन्डर कागजात)को ‘डेलिभरी एन्ड कम्प्लेशन सेड्युल’ उपशीर्षकमा संशोधन गर्दै ‘७ डेज् फ्रम दी डेट अफ साइनिङ कन्ट्र्याक’को ठाउँमा ‘६० डेज् फ्रम दी डेट अफ साइनिङ कन्ट्र्याक’ भन्ने सर्त राखेको देखिन्छ।

‘सप्लायर्सले संशोधनको माग गर्नुभएको थियो,’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीले उकेरासँग भने,‘हामीले उहाँहरूको पनि माग सम्बोधन गरेर तीन भन्दा धेरै कम्पनीले टेन्डर प्रस्ताव गर्न मिल्ने गरी नै संशोधन गरेका थियौँ।’

तर, सुरुमा करिब एक करोड मूल्यमा पाँच सेट ‘इलेक्ट्रोसर्जिकल युनिट’को टेन्डर पाएको एक हप्ता भित्रमा सामान ल्याइसक्नुपर्ने सर्त राखेको भेरी अस्पतालले त्यो भन्दा करिब आधा मूल्यको ‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्ट्रुमेन्ट सेट’ भने टेन्डर पाएको ९० दिनसम्ममा ल्याए पनि हुने गरी सर्त राखेको थियो।

‘इन्डोस्कोपिक स्पाइन सर्जरी इन्स्ट्रुमेन्ट सेट’को स्पेशिफिकेशन (टेन्डर कागजात)को ‘डेलिभरी एन्ड कम्प्लेशन सेड्युल’ उपशीर्षकमा ‘९० डेज् फ्रम दी डेट अफ साइनिङ कन्ट्र्याक’ भन्ने सर्त राखिएको छ। त्यसैले विशेष गरी ‘इलेक्ट्रोसर्जिकल युनिट’को टेन्डर सेटिङ शङ्कारहित अवस्थामा भने छैन।

यसअघि पनि २०८१ जेठ १३ गते टेन्डर गरेर भेरी अस्पतालले दुई सेट ‘कट्री मेसिन’(‘इलेक्ट्रोसर्जिकल युनिट’) खरिद गरेको थियो। अहिले खरिद प्रक्रियामा रहेको मेसिनको वारेन्टीको समय दुई वर्ष राखिएको छ।

स्वास्थ्य उपकरण खरिदमा मिलेमतो सम्बन्धित समाचार

माघ २३, २०८१ बुधबार १७:५१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।