पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवनमा गोल्छा समूहको निजी कलेज

पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवनमा गोल्छा समूहको निजी कलेज

काठमाडौँ : पुल्चोक इन्जिनियरिङ क्याम्पस व्यवस्थापनले आफ्नो स्वामित्वको सम्पत्ति निजी क्याम्पसलाई भाडामा दिएको खुलेको छ। व्यवस्थापनले गोल्छा ग्रुपको इम्बार्क कलेजका लागि क्याम्पस परिसरको भवन भाडामा दिएको हो। यसको अध्यक्ष शेखर गोल्छा हुन्।

क्याम्पस प्रमुख इन्द्र आचार्यले बोलपत्र आह्वान गरेर गोल्छा ग्रुपलाई भवन भाडामा दिएको पुष्टि गरे। उनका अनुसार महिनाको १८ लाख तिर्ने सर्तमा गोल्छाले टेन्डर पाएको हो।

क्याम्पस हाता भित्रको भवन निजी कलेजलाई दिन मिल्छ भन्ने उकेराको प्रश्नमा आचार्यले सो कलेजले व्यवस्थापन विषय अध्ययन गराउने र आफ्नो कलेजले इन्जिनियरिङ पढाउने भएकाले अनुमति दिएको दाबी गरे। उनले गोल्छा समूहसँग घर भाडाको प्रक्रिया र विस्तृत सम्झौताबारे भने धेरै खुलाएनन्।

क्याम्पस व्यवस्थापनले सरकारी क्याम्पसको हातामा भएको भवन निजी कलेजलाई दिएको भन्दै विध्यार्थीहरु भने विपक्षमा उभिएका छन्। क्याम्पसका विध्यार्थीहरुका लागि पढ्न पर्याप्त पूर्वाधार नरहेको तर सरकारी क्याम्पसको भवन निजी कलेज सञ्चालनका लागि दिएको भन्दै उनीहरू विरोधमा समेत उत्रिसकेका छन्।

२०७८ ब्याचबाट इलेक्ट्रिक इन्जिनियरिङको सेक्सन थपेको, कोभिडको कारण क्याम्पसमा अहिले ५ ब्याचका विद्यार्थी अध्ययरतरहँदा भौतिक पूर्वाधार नभएको अखिल (क्रान्तिकारी) पुल्चोक क्याम्पसका सचिव सागर वलीले बताए।

सरकारी क्याम्पसको भवन भाडामा लिएको निजी कलेज 'इम्बार्क कलेज' को अध्यक्ष छन् शेखर गोल्छा।‘विद्यार्थीहरूलाई कक्षा र अन्य पूर्वाधार पुगेको छैन। तर क्याम्पसकै हातामा रहेका भवनहरू केही व्यापारीका जिम्मा लगाई स्वार्थ बाझिने गरी पुल्चोक क्याम्पसकै प्राङ्गणमा निजी क्याम्पस खोल्न दिने काम भयो,’ उनले भने ‘सरकारी क्याम्पसभित्र प्राइभेट क्याम्पसको ब्यानर र पोस्टर राख्ने काम भइरहेको छ।’

उनले क्याम्पस हाताभित्रको भवन इम्बार्क कलेजलाई भाडामा दिएर सरकारी सम्पत्ति दुरुपयोगको क्रम सुरु भएको बताए।  बुधवार नै अखिल (क्रान्तिकारी) पुल्चोक क्याम्पसका अध्यक्ष सक्षम सापकोटा र सचिव वलीले विज्ञप्तिमार्फत ३ दिन भित्र भाडामा लगाउने काम बन्द नगरे जुनसुकै हदमा जान सक्ने चेतावनी उल्लेख छ।

विज्ञप्तिमा पुल्चोक क्याम्पस निजीकरणको प्रारम्भ भएको दाबी गर्दै निजीकरण हुनबाट जोगाउन पहल गर्नुपर्ने उल्लेख गरेको छ।

माघ २३, २०८१ बुधबार १६:०६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।