त्रिवि मैदानमा पूजाको ऐतिहासिक अर्धशतक, तेस्रो विकेटका लागि इन्दुसँग ७८ रनको साझेदारी

त्रिवि मैदानमा पूजाको ऐतिहासिक अर्धशतक, तेस्रो विकेटका लागि इन्दुसँग ७८ रनको साझेदारी

काठमाडौं : पूजा महतोको ऐतिहासिक अर्धशतकमा त्रिदेशीय महिला टी२० क्रिकेटमा नेपालले नेदरल्यान्ड्सलाई बलियो लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रन जोडेसँगै नेदरल्यान्ड्सले एक सय ४६ रनको लक्ष्य पाएको छ।

नेपालका लागि सुरुवात राम्रो नभए पनि कप्तान इन्दु बर्मा र पूजा महतो इनिङ्सलाई सम्हाले। उनीहरूले तेस्रो विकेटका लागि ७८ रनको पार्टनरसीप गरे।

पूजाले अविजित रहँदै अर्धशतकीय पारी खेलिन्। ५१ बलको सामना गरेकी उनले पाँच चौकाको मद्दतमा ६२ रन जोडिन्। यो पूजाको दोस्रो अर्धशतक हो।

यो अर्धशतक सँगै पूजाले आफ्नो नाममा ऐतिहासिक कीर्तिमान राखेकी छन्। उनी त्रिवि क्रिकेट मैदानमा टी२०आई क्रिकेटमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी बनेकी छन्।

यसअघि २०२२ मे २१ मा युगान्डाविरुद्धको खेलमा नेपालकी ज्योति पाण्डेले कीर्तिपुरमा ४९ रनमा आउट भएकी थिइन्।

पूजाका अलावा कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको मद्दतमा ३९ रनको पारी खेल्दा रुबिना क्षेत्रीले १७ बलमा तीन चौकाको मद्दतमा २० रन जोडिन्।

नेदरल्यान्ड्सका लागि आइसिर ज्वीलिङले दुई विकेट लिँदा हिटर सिगर्स र क्यारोलिना डि लाङ्गेले समान एक-एक विकेट लिए।

जारी सिरिजमा नेपाल चार खेलमा पराजित भइसकेको छ। दुई खेलमा नेदरल्यान्ड्ससँगै र दुई खेलमा थाइल्यान्डसँग पराजित नेपालको नेदरल्यान्ड्ससँग यो अन्तिम खेल हो।

माघ २३, २०८१ बुधबार १३:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।