सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

रौतहट : सरस्वतीको मूर्ति सेलाउने क्रममा बागमती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।
मंगलबार साँझ मूर्ति सेलाउने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बुधबार बिहान यादवको शव फेला परेको हो।
राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए।
उनका अनुसार पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो।
मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार राती सम्म र पुनः बुधबार बिहान खोजी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ।
माघ २३, २०८१ बुधबार १३:२०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।