ट्रम्पको कर लगाउने धम्कीपछि एकजुट भए युरोपेली देश, कडा प्रतिवाद गर्ने चेतावनी

ट्रम्पको कर लगाउने धम्कीपछि एकजुट भए युरोपेली देश, कडा प्रतिवाद गर्ने चेतावनी

एजेन्सी : अमेरिकाको राष्ट्रपति पद सम्हालेको १५ दिनभित्रै डोनाल्ड ट्रम्पले आफ्ना निर्णयहरूले विश्वका धेरै देशहरूलाई समस्या सिर्जना गरेका छन्।

यसै क्रममा उनले युरोपेली देशहरूलाई कर लगाउने धम्की दिएका छन्। त्यसपछि युरोपेली देशहरूको संगठन युरोपियन युनियनका नेताहरू एकजुट भएका छन्।

विश्वको सबैभन्दा धनी देश लक्जमबर्गका विदेशमन्त्री जेभियर बेटेलले ट्रम्पसँग कसरी व्यवहार गर्ने भन्ने बारेमा युरोपलाई स्पष्ट सल्लाह दिएका छन्।

उनले भनेका छन्, ‘यदि हामी कमजोर भयौँ भने उनले हामीलाई खानेछन्। यदि वार्ता गरेनौं भने समाप्तै पार्नेछन्।’

यसैबीच डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यदि अमेरिकाले युरोपमा कडा कर लगाए आफूहरूले पनि त्यसको कडा प्रतिक्रिया जनाउनुपर्ने बताएकी छन्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यसबाट बच्न हामीले सबै कुरा गर्नुपर्ने बताएका छन्।

वास्तवमा, ट्रम्पको निशाना युरोपेली संघका २७ देशहरू हुन्। ट्रम्पले आइतबार युरोपियन युनियनमा कर लगाइने र त्यो निर्णय छिट्टै हुने बताएका थिए।

युरोपेली विदेश सम्बन्ध परिषद्का वरिष्ठ नीति फेलो अगाथे डेमारिसले ट्रम्पको धम्कीको पछाडि अमेरिकाको ठूलो व्यापार घाटा रहेको बताइन्।

अमेरिकाबाट युरोपेली संघमा आउने उत्पादनहरूमा औसत ३.९५ प्रतिशत भन्सार शुल्क लाग्छ भने युरोपबाट अमेरिका आउने उत्पादनहरूमा औसत ३.५ प्रतिशत भन्सार शुल्क लाग्छ।

अमेरिकी कारहरू जस्ता केही चीजहरूमा युरोपमा १० प्रतिशत कर लगाइएको छ, जबकि अमेरिकाले युरोपेली कारहरूमा २.५ प्रतिशत मात्र कर लगाउँछ।

खाद्य तथा पेय पदार्थमा युरोपेली संघको कर अमेरिकी करभन्दा औसतमा ३.५ प्रतिशत बढी छ। यो त्यस्तो मुद्दा हो जसमा ट्रम्प सबैभन्दा बढी आपत्ति जनाएका छन्।

२०१९ मा पनि ट्रम्पले धेरै युरोपेली ब्रान्डहरूमा शुल्क लगाएका थिए। त्यसबेला ट्रम्पले फ्रान्सेली वाइन र इटालियन चीजका साथै लुइस भिटन र गुच्ची जस्ता ब्रान्डका विलासी छालाका ह्यान्डब्याग र सामानमा २५ प्रतिशत कर लगाएका थिए।

ट्रम्पको धम्कीका कारण युरोपको विलासिता उद्योग पनि चिन्तित छ। स्विट्जरल्याण्डको प्रोग्नोस इन्स्टिच्युटका अर्थशास्त्रीहरूका अनुसार जर्मनीमा १२ लाख रोजगारी अमेरिकामा हुने निर्यातमा निर्भर छन्।

यदि राष्ट्रपति ट्रम्पले युरोपविरुद्ध कर लगाउंँदा यसले तीन लाख मानिसको रोजगारी जोखिममा पर्नेछ।

माघ २३, २०८१ बुधबार ०९:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।