दिल्ली विधानसभाका लागि आज मतदान, आम आदमी पार्टीले बचाउला त आफ्नो साख?

काठमाडौं : भारतको नयाँ दिल्ली विधानसभा निर्वाचनका मतदान सुरू भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार विहान सात बजेबाट भएको मतदान बेलुका ६ बजेसम्म चल्नेछ।
निर्वाचनका लागि ३० हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। दिल्लीमा रहेको ७० वटै विधानसभा सिटका लागि आजै मतदान हुनेछ। जसका लागि ६९९ उम्मेदवार मैदानमा छन्।
दिल्ली विधानसभा निर्वाचनको मतदानका लागि १३ हजार ७६६ मतदान केन्द्र निर्धारण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मतदानका लागि एक करोड ५६ लाख मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।
यसका पटकको चुनावी मैदानमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल, मुख्यमन्त्री आतिशी, आपका नेता मानिस सिसोडियामाथि सबैको नजर हुनेछ भने भारतीय जनता पार्टीबाट उम्मेदवार भएका परवेश वर्मा र कंग्रेस उम्मेदवार भएका सन्दीप दीक्षित मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
दिल्लीको ७० वटै सिटमा आम आदमी पार्टी र कंग्रेसले आफ्नो उम्मेदवार उतारेका छन् भने भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवार मैदानमा उतारेको छ।
दिल्लीका विधानसभामा सन् २०१५ र २०२० गरी दुई पटक एकल बहुमत ल्याएको केजरीवाल नेतृत्वको आम आदमी पार्टीले भने तेस्रो पटक एकल बुहमत ल्याउने दाउमा छ। उता सन् २०२० मा ८ सिटमा सीमित भएको भाजपा भने ६० सिट आउने दाबी गरिरहेको छ।
माघ २३, २०८१ बुधबार ०८:३५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।