झापा काण्ड देखाएर केपी ओलीलाई जेलमा राखियो, त्यसबेला हामी सँगै थियौं : देउवा

गण्डकी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उनले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए।
पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उनले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र एमालेबीच सहकार्य भएको बताए। एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको दाबी छ।
उनले भने, 'वास्तवमा भन्ने हो भने ओलीजी र मसँगै जेलमा बसेको साथी हौँ। धेरै कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो। झापा काण्ड देखाएर जेलभित्रको पनि जेलमा राखियो। हामी मुख्य प्रतिस्पर्धी हौँ। तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने अवस्था छैन।'
बुधबार समापन हुने कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूले प्रशिक्षण दिने छन्।
प्रशिक्षणमा पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापतिसहित करिब दुई सय जना सहभागी छन्।
माघ २२, २०८१ मंगलबार १६:२६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।