आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा १० जना पक्राउ

काठमाडौं : आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा देशका विभिन्न भागबाट दश जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका-५ का २६ वर्षीय अर्जुन गुरूङ, बर्दियाको ठाकुरबाबा नगरपालिका-१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका-४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका-४ दुर्गाचोकबाट नियन्त्रित लागुऔैषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र नगद आठ हजार ४०० सहित दुई जनालाई पक्राउ गरिएको हो।
यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका-११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ।
सुन जस्तो देखिने धातुका रिङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, एक एकथान सिक्री, औँठी र बाला ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ पक्राउ परेकी छन्।
थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोही दिन साँझ पक्राउ गरिएको हो।
माघ २२, २०८१ मंगलबार १४:५९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।