माओवादी बैठक : प्रदेश समिति इन्चार्ज तोकिए, काठमाडौंमा १२३ पालिका प्रमुख उपप्रमुखको भेला गरिने

काठमाडौं : माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो।
बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेशमा उपमहासचिव मातृकाप्रसाद यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकले विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क)मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ।
महासचिव भन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मेवारी नलिने निर्णय भएको उनले जानकारी दिए।
यस्तै, माओवादी केन्द्रले आगामी फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
आगामी फागुन ९ मा आफ्ना पार्टीका तर्फबाट विजयी स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।
माओवादीका तर्फबाट एक सय २३ पालिकामा प्रमुख उपप्रमुख विजयी भएका छन्।
माघ २१, २०८१ सोमबार १८:०५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।