युएसएआइडी 'कट्टर पागल र अपराधीको संगठन' भएको ट्रम्प र मस्कको दाबी, खारेज गर्नुपर्नेमा एक मत

युएसएआइडी 'कट्टर पागल र अपराधीको संगठन' भएको ट्रम्प र मस्कको दाबी, खारेज गर्नुपर्नेमा एक मत

एजेन्सी : अमेरिकी सरकारको एक स्वतन्त्र निकाय संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले १०० भन्दा बढी देशहरूमा काम गर्छ। सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापना गरिएको युएसएआइडीको मुख्य उद्देश्य विश्वव्यापी विकास, मानवीय सहायता र प्रजातान्त्रिक शासन प्रवर्द्धन गर्नु हो।

तर, अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीको भविष्यप्रति शंका उत्पन्न गर्ने महत्वपूर्ण कदमहरू चालेको छ। जनवरी २० मा, राष्ट्रपति ट्रम्पले 'संयुक्त राज्य अमेरिका विदेशी सहयोगको पुनरावलोकन र पुनर्संयोजन' शीर्षकमा कार्यकारी आदेशमा हस्ताक्षर गरे। यो आदेशले अमेरिकी विदेशी विकास सहायता कार्यक्रमहरूमा ९० दिनको रोक लगाएको छ।

ट्रम्प प्रशासनको कडाइका कारण कम्तीमा ५६ वरिष्ठ अधिकारीहरू निलम्बित भइसकेका छन् भने धेरै विदेशी सहायता कार्यक्रमहरू रोकिएका छन्। 

यता, युएसएआइडीको वेबसाइट अनलाइनबाट हटाइएको र सय बढी कर्मचारीलाई बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। युएसएआइडीको वेबसाइट मात्र बन्द गरिएको छैन, यसका कैयन् कर्मचारीहरूलाई बिदामा पठाइएको छ। कैयनले संस्थाको इमेलको पहुँच गुमाएका छन्।

ट्रम्प प्रशासनले युएसएआइडीका दुई वरिष्ठ सुरक्षा अधिकारीहरू, जोन भोर्हिज र उनका सहायक ब्रायन म्यागिललाई निलम्बन गरिसकेको छ। किनभने उनीहरूले सरकारले गठन गरेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी नामक संस्थाका निरीक्षण टोलीलाई गोप्य सामग्रीहरूमा पहुँच दिन अस्वीकार गरेका थिए। डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी टोलीको नेतृत्व टेक उद्यमी अर्बपति एलन मस्कले गरेका थिए। 

ट्रम्प प्रशासनसँग मिलेर डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी गठन गरेका मस्कले युएसएआइडीको कट्टर आलोचना गर्दै आएका छन्। उनले युएसएआइडीलाई 'अपराधी संस्था' भनेका छन् र अब यसको अन्त्य गर्ने समय आएको छ भन्दै सामाजिक सञ्जाल एक्समा विभिन्न पोस्ट गरेका छन्।

प्रशासनले युएसएआइडीलाई अप्रभावी र अमेरिकी राष्ट्रिय हितसँग मेल नखाने बताउँदै यी कदमहरू उठाइएको दाबी गरेको छ। राष्ट्रपति ट्रम्पले युएसएआइडी लाई 'कट्टर पागलहरूको समूह' भन्दै यसको संरचना भत्काउने निर्णय सही भएको बताएका छन्। 

अमेरिकी राज्य सचिव मार्को रुबियोले समेत युएसएआइडीको 'मानवीय, विकास, र सुरक्षासम्बन्धी कार्यक्रमहरूलाई बन्द गर्नु अपरिहार्य छ' भन्दै समर्थन जनाएका छन्। यस निर्णयका कारण विश्वभर हजारौं सहायता कर्मचारीहरू बेरोजगार भएका छन्।

यस घटनाले अमेरिकी सांसदहरूलाई चिन्तित बनाएको छ। सिनेटर एलिजाबेथ वारेनले प्रशासनको कडा आलोचना गर्दै ट्रम्पलाई 'एलन मस्कलाई सरकारी गोप्य सूचना पहुँच दिन अनुमति दिएर' अत्यन्त खतरनाक काम गरेको आरोप लगाएकी छिन्। 

युएसएआइडीको भविष्य अन्योलपूर्ण बन्दै जाँदा, अमेरिकी परराष्ट्र नीति, मानवीय सहायता प्रयासहरू र राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्ने देखिन्छ। सरकारी कार्यक्षमताको नाममा कडा नीति लागू गर्दा लोकतान्त्रिक संस्थाहरू र अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धताहरूलाई कसरी सुरक्षित राख्ने? भन्ने गम्भीर प्रश्न उठेको छ। 

माघ २१, २०८१ सोमबार १६:५९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।