उकेराकर्मी वाइबा पुरस्कृत

उकेराकर्मी वाइबा पुरस्कृत

काठमाडौं : उकेराकर्मी मोनिका वाइबा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन्।

अन्तर्दृष्टि पुरस्कार समितिले पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा उपमहागर उपप्रमुख मञ्जु गुरुङले उकेराकर्मी वाइबालाई पुरस्कार प्रदान गरेकी हुन्।

समितिले वाइबाको साथमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार र अन्तर्दृष्टि हातेमालो पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरेको अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेले जानकारी दिए।

समितिले शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गता प्रतिको सोच, दृष्टिकोण लगायतलाई आधार मानेर अमरसिंह नमुना माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मुक्तिनाथ आचार्यलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरेको छ।

यसका अलावा अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधारमा सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वय गरिमा थापा र करिना काफ्लेलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार २० हजार रुपैयाँ, अन्तर्दृष्टि हातेमालो पुरस्कार १० हजार रुपैयाँ र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार १५ हजार रुपैयाँ राशीको थियो।

अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित अन्तर्दृष्टि पुरस्कार हरेक वर्ष वसन्तपञ्चमीको उपलक्ष्यमा प्रदान गर्ने गरिएको छ।

उकेराले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा भएको बदमासीको सिरिज नै सार्वजनिक गरेको थियो।

अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:

माघ २१, २०८१ सोमबार ०९:४५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।