ढुकुटीमा विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले बढ्यो, ६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स भित्रियो

ढुकुटीमा विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले बढ्यो, ६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौँ चालू आर्थिक वर्षको पुस महिनामा शोधनान्तरस्थिति (देशमा भित्रिने र बाहिरिने रकमको अनुपात) १३.५ प्रतिशतले वृद्धि भई २ खर्ब ४९ अर्ब २६ करोडले बचत भएको छ।

गत वर्षको पुस महिनामा शोधनान्तरस्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ।

गत असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तसम्म आइपुग्दा २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ।

ढुकुटीमा अमेरिकी डलरको सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुसमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) अन्यमा विदेशी विनिमय सञ्चिति २०८१ असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुसमा २७ प्रतिशतले वृद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ।

 ६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स भित्रियो

चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह(रेमिटेन्स) ४.१ प्रतिशतले वृद्धि भयो। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिटेन्स आप्रवाह समीक्षा अवधिमा ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २२.२ प्रतिशतले बढेको थियो।

केन्द्रीय बैंकको अनुसार अमेरिकी डलरमा रेमिटेन्स १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिटेन्स १९.५ प्रतिशतले बढेको थियो।

त्यस्तैसमीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो।

माघ २०, २०८१ आइतबार २०:००:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।