तीन अर्बको अनलाइन जुवा कारोबारमा संलग्न २४ जना पक्राउ, १० भारतीय नागरिक समेत समातिए

ललितपुर : महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन्।
प्रहरी टोलीले ललितपुर महानगरपालिका-२ सानेपाका दुई वटा घरबाट उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूले ८ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए। जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको कार्यालयले जानकारी दिएको छ।
प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ। पक्राउ पर्नेमा भारतका उत्तर प्रदेश, उत्तराखण्ड, मध्यप्रदेश र बिहार प्रदेशका नागरिकहरू रहेका छन् भने नेपालका प्युठान, डोटी, सुर्खेत र दार्चुला जिल्लाका व्यक्तिहरू रहेका छन्।
प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा तथा सट्टाबाजी सम्बन्धी कसुर र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको जनाएको छ ।
माघ २०, २०८१ आइतबार १८:२५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।