फिल्म 'एक्टर टेक वान' : कमजोर पटकथाले डुबेको राजनको महत्वाकांक्षी प्रयास

फिल्म 'एक्टर टेक वान' : कमजोर पटकथाले डुबेको राजनको महत्वाकांक्षी प्रयास

आफ्नो कथामा कतै फिल्म बनिहाल्छ कि भनेर निर्देशकलाई पिच गर्ने (सुनाउने) सामान्य नै हो। तर यस्तै घटनामा कथा चोरिएको भन्दै फिल्म पूर्ण बहादुरको सारंगीको लेखक तथा निर्देशक अहिले विवादको घेरामा मात्रै हैन, प्रहरीको अनुसन्धानको घेरामा पुगेका छन्।

यस्तै प्लटमा बनेको फिल्म एक्टर : टेक वान पनि अनेक विवाद र बखेडामा अल्झँदै बल्ल हलमा पुग्यो, जसले फिल्म भित्र फिल्मको कथा कुदाउने कथ्य शैली बोकेको छ। फिल्म पुरै कथा वचनमा आधारित छ।

निर्देशक राजन भुसालले फिल्मका लेखक (विजय) महेश त्रिपाठीले निर्देशक निश्चल बस्नेतलाई आफ्नो कथा सुनाउँदै गरेको कथ्य शैलीमा टेकेर त्यसलाई दृश्य भाषामा बदल्ने प्रयास गरेका छन्। विजयले निर्देशकलाई फिल्मको कथा सुनाइरहँदा  कुशल, प्रेरणा, प्रकृति, पवन, धिरजंगदेखि विवेकसम्मका क्यारेक्टरहरू २ घण्टा १४ मिनेट पर्दामा कुद्छन्।

फिल्मको मूल कथा कुशल (प्रदीप खड्का) नामक एक महत्वाकांक्षी युवाको वरिपरि घुमेको छ। निम्न आर्थिक परिवारको एक्लो छोरो कुशल सुपरस्टार बन्ने सपना बोकेर हिँडेको छ। नाटकमा सहभागी हुँदै गर्दा उसलाई फिल्मको अवसर मिल्छ।

तर निर्देशक विवेक (दिव्यदेव) सुन तस्करी प्रकरणमा पक्राउ पर्दा कथाले नयाँ मोड लिन्छ। कुशल पोखरा पुगेर रियोस बन्छ र त्यहाँ व्यापारी धिरजंगकी छोरी प्रेरणा (दिव्या रायमाझी) सँग प्रेम सम्बन्ध जोड्छ। यता काठमाडौंमा उसको पहिलो प्रेमिका प्रकृति (आना शर्मा) पनि छिन्। दुई प्रेमिकाबीच फसेको कुशलको कथामा निर्देशकले ट्विस्टहरु मिसाउँदै कथालाई अगाडि बढाउने प्रयास गरेका छन्।

सुपरस्टार बन्ने महत्त्वाकाङ्क्षा अनि दुई प्रेमिकाबीच फसेका कुशलले आफ्नो महत्त्वाकाङ्क्षा पुरा गर्न सफल हुन्छन्? कथा यसै वरिपरि घुमेको छ।

फिल्मको कथाले दर्शकमा एक हदसम्म कौतुहलता जगाउन सफल भएको छ। अब के हुन्छ भनेर दर्शकको मनमा प्रश्न जन्माउन निर्देशक सफल भएका छन्। काठमाडौंका कौशल पोखरा पुग्दा रियोस बन्छन्। त्यही समयमा प्रहरी पनि सुन तस्करीको अनुसन्धान गर्न पोखरा नै पुगेको छ। कतै कौशल नै सुन तस्कर त हैन? दर्शकको मनमा प्रश्न उब्जिन्छ नै।

प्रेरणा अनि दिव्याको बुबा को हुन्? दर्शकलाई खसखस लागिरहन्छ। पटक-पटक एकै अपार्टमेन्टको दुई वटा लिप्टमा दुई प्रेमिका भेटिएको दृश्यले पनि दर्शकमा खसखस बढाउँछ।

फिल्ममा निर्देशकको भूमिकामा रहेका निश्चल प्रारम्भमा खासै कथा सुन्न मन गर्दैनन्। तर कथा सुन्दै जाँदा आकर्षित हुँदै जान्छन्। तर यता हलमा भने ठ्याक्कै उल्टो प्रभाव देखियो दर्शकमा। प्रारम्भमा खतरै फिल्म बनेछ कि क्या हो भनेर दर्शक आकर्षित हुन्छन् तर कमजोर पटकथाले बिस्तारै झ्याउँ मान्दै जान्छन्।

निर्देशकले फरक कथ्य शैलीबाट दर्शकलाई आकर्षित गर्ने प्रयास त गरेका छन्। तर कथाका प्लटहरूसँगै पात्रहरू फिल्ममा सङ्घर्षहीन रूपमा दगुरिन हतार गर्दा फिल्म प्रचार गरिए जस्तो बलियो बनेको छैन। मध्यम तहमा झरेको छ।

पहिलो हाफका कथाहरू त्रिकोणात्मक प्रेमको कथामा बगेको छ। त्यसमा सुपरस्टार हुन कुशलले गरेका प्रयासहरू देखिन्छन्। त्यसमा सङ्घर्ष भने देखिन्न। केवल प्रयास मात्र देखिन्छ। प्रयास र सङ्घर्ष भिन्न विषय हुन्। यसमा निर्देशक चुकेका छन्।

फिल्ममा पात्रलाई स्थापित गर्नतिर ध्यान दिएका छैनन् निर्देशकले। यति देखाएपछि दर्शकले बुझिहाल्छन् नि भन्ने पाराले दृश्यमार्फत कथालाई अगाडि दौडाएका छन्। दर्शक पात्रहरूको चरित्र चित्रणमै अलमलिन्छन्। को के हो भन्नेमा अलमल सुरु हुन्छ।

फिल्ममा निर्देशकको चरित्रमा रहेका विवेकले कुशल बनेका प्रदीपलाई पोखरा पठाउँछन् अनि फिल्मको दोस्रो कथाले लय समात्ने प्रयास मात्र गर्छ, लय समात्न सक्दैन। अपत्यारिला दृश्यले फिल्मलाई कमजोर बनाएको छ।

एकै पटक पोखरा पुगेका कुशलले स्कुलमा पढाउने जागिर पाउँछन्। त्यहीँ भेटिन्छन् प्रेरणा। अनि दुवैको प्रेम सुरु हुन्छ। यसमा निर्देशक निकै हतारिएको प्रस्ट हुन्छ। पात्र फटाफट हिँड्दा पटकथा चिप्लँदै जान्छ। मैले बुझेको कुरा दर्शकले बुझिहाल्छन् नि भन्ने भ्रममा परेको देखिन्छ निर्देशक। यो फिल्मको सबैभन्दा कमजोर पक्ष यही नै हो।

पटकथा निकै कमजोर देखिन्छ। पात्रहरूको चरित्र चित्रण अनुसार संवादहरू पनि निकै कमजोर सुनिन्छन्। अभिनयमा पनि उस्तै कमजोरीहरू देखिन्छन् फिल्ममा।

सुपरस्टार बन्न प्रदीपले गरेको सङ्घर्ष अनुभवै हुन्न दर्शकलाई। यो फिल्ममा जसरी कथानक अगाडि बढेको छ त्यही अनुसार नेपाली कला क्षेत्रमा सुपरस्टारको जन्म हुने हो भने कुनै मिहिनतै गर्नु नपर्ने रहेछ भन्ने गलत सन्देश प्रवाह गर्ने प्रयास गरेका छन् निर्देशकले।

त्रिकोणात्मक प्रेमकथाको निर्माण गर्ने प्रयास गरेका निर्देशकले त्यसलाई रोचक पारामा प्रस्तुत गर्न सकेका छैनन्। दोहोरो प्रेमको कथा हुनु र त्रिकोणात्मक प्रेमको कथा हुनुबीचको भिन्नता के ? त्यसले फिल्मको कथालाई कसरी रोचक बनायो? केही छैन।

कथा र कथ्य शैलीमा निर्देशकले जति मिहेनत गरेका छन् पात्र निर्माण र चरित्र चित्रण, पात्रहरूबीचको आन्तरिक र बाह्य द्वन्द्व, उद्देश्य, उद्देश्य प्राप्त गर्न पात्रले गर्ने सङ्घर्ष र सफलता यी सबै पक्षमा निर्देशक चुकेका छन्।

फिल्ममा कलाकार छनोट ठिकठिकै छ। प्रदीपको चरित्रमा कतैकतै जवानको साहरुखको झल्को आउने बाहेक नयाँपन देखिँदैन। पहिलो फिल्ममा दिव्या रायमाझीले सम्भावना देखाएकी छिन् तर संवाद शैलीमा बाबु दिलीप रायमाझीको छाप देखिनु सकारात्मक हैन। आना शर्माले अभिनयमा मिहिनेत गरेकी छिन्।

धीरजंग बनेका राजबल्लभ कोइरालाको अभिनय यो फिल्मको सबैभन्दा बलियो सर्प्राइज हो। लामो समय अभिनयबाट टाढा रहेर यो फिल्मबाट कमब्याक गरेका उनको अभिनय हेर्दा उनले फिल्म क्षेत्र मिस गरेका हैनन्, नेपाली फिल्मका दर्शकहरूले एक राम्रो अभिनय गर्ने कलाकारको अभिनय मिस गरिरहेका थिए भन्ने अनुभव हुन्छ।

फिल्मको छायाङ्कन पक्ष बलियो छ। ब्याकग्राउण्ड म्युजिक सुहाउँदो छ। फिल्मको कलरिङ, लाइटिङ, मेकअप सुहाएको छ। फिल्ममा एउटा गीत छ ‘दिन बित्ला’बोलको। यो फिल्मको कथाको यस्तो ठाउँमा बज्छ कि त्यसले झिनिक्कै बनाउँछ। बेअर्थ, कुठाउँमा गीत राखिएको छ। गीत पनि सुमधुर छैन। यसले कथालाई अगाडि बढाउन सघाउँदैन।

राजन भुसालको डेब्यु निर्देशनमा बनेको फिल्मले कौतूहलपूर्ण कथावस्तु पस्कने प्रयास गरेको छ। कथ्यशैली नयाँ समातेका छन्। तर पटकथाको कमजोरीले फिल्म गतिलो बन्न भने सकेन। फिल्मको अन्त्यले सम्भावित दोस्रो भागको सङ्केत गर्छ, जुन सान्दर्भिक देखिन्छ।

तर पहिलो भाग नै यति कमजोर बनेपछि दर्शक दोस्रो भागको प्रतीक्षा गरेर बस्लान् र!

माघ २०, २०८१ आइतबार १७:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।