सेयर बजारमा पाँच महिनाकै उच्च कारोबार, परिसूचक पुग्यो २७२७

सेयर बजारमा पाँच महिनाकै उच्च कारोबार, परिसूचक पुग्यो २७२७

काठमाडौं : साताको पहिलो दिन आइतबारको सेयर बजार मंसिर २० यताकै  उच्च रूपमा बढ्यो। आइतबार सेयर बजार मापन गर्ने सूचक ६९.८० अङ्कले बढेर परिसूचक २७२७.५८ बिन्दुमा पुग्यो।

नेप्से परिसूचक २७२७.५८ विन्दुमा पुग्दा सेन्सेटिभ इण्डेक्स १३.६४ अङ्क बढ्यो, फ्लोट इण्डेक्स ४.९३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अङ्क बढ्यो।

आइतबार कारोबार रकम बढेर १२ अर्ब ९५ करोड पुग्यो। यो पाँच महिना यता भएको उच्च कारोबार हो। गत मंगलबार ९ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएर बजार बन्द भएको। दुई दिन सरकार बिदा भएपछि आइतबार बजार खुलेको हो।

आइतबार बजार खुलेर कारोबार सुरु भएदेखि नै बजार निरन्तर बढेको थियो। आइतबारको कारोबारमा २ सय २ कम्पनीको सेयर मूल्य बढेको थियो। ३७ वटा कम्पनीको सेयर मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

आइतबार माइक्रोफाइनान्स सेक्टरको सबैभन्दा धेरै सेयर मूल्य बढ्यो। यो सेक्टरको सेयर मूल्य ४.९२ प्रतिशत बढ्यो। बैंकिङ सेक्टरको २.५२, विकास बैंक सेक्टरको ३.१५, फाइनान्स सेक्टरको १.२९, होटल तथा पर्यटन सेक्टरको १.८२, हाइड्रोपावर सेक्टरको १.४१, लगानी सेक्टरको ३.३८, जीवन बीमा सेक्टरको २.४३, उत्पादन तथा प्रशोधन सेक्टरको ३.०७, निर्जीवन बीमा सेक्टरको ३.७१, अन्य सेक्टरको २.६३ र व्यापार सेक्टरको १.३१ प्रतिशत सेयर मूल्य बढ्यो।

आइतबारको कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका थिए। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड ९७ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड र सिन्धु विकास बैंकको साढे ३० करोडभन्दा बढीको शेयर किनबेच भयो। 

कारोबारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आइतबार सेयर बजार बन्द हुनु अगाडि उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो।

सप्तकोसी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशत मूल्य घट्यो।

माघ २०, २०८१ आइतबार १५:४०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।