टेन्डरको विषयमा कुरा नमिल्दा मरणासन्न हुने गरी कुटिए कवाड व्यवसायी

काठमाडौं : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-९ पिडारीचोकस्थित एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर-८ का ३७ वर्षीय कवाड व्यवसायी मुकेश प्रसाद यादवमाथि सामूहिक रूपमा रड प्रहार गरी निर्मम कुटपिट गरी गम्भीर घाइते बनाइएको हो।
गम्भीर घाइते यादवको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित बीएनबी अस्पताल ल्याइएको छ।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि फेकु कवाडका साहु जनकपुरधाम उपमहानगरपालिका-१३ पिडारीका ४८ वर्षीय फेकु साह, उनका तीन छोरा १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह तथा भारत बिहार, सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहले सामूहिक आक्रमण गरेका थिए।
यादवमाथिको कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। पाँच मिनेटसम्म फलामले प्रहार गर्दै उनलाई लगातार कुटपिट गरिरहेको भिडियोमा देखिन्छ।
घटनापछि फेकु साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कबाडसम्बन्धी एक टेन्डर फेकु साह र मुकेश यादवले संयुक्त रूपमा लिएका थिए। सोही विषयमा छलफल गर्न मुकेश सर्लाही बरहथवा नगरपालिका-१३ का वडाध्यक्ष जागिर दर्जीसँगै आएका थिए। छलफलकै क्रममा सामान्य विवाद हुँदा फेकु साह र उनका छोराहरूले मुकेशलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले थप अनुसन्धान भइरहेको बताए।
माघ २०, २०८१ आइतबार १३:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।