मोन्टीको कार्यकाल सकियो, क्यानले सामाजिक सञ्जालबाट दियो धन्यवाद

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको कार्यकाल सकिएको छ। २०७९ माघबाट उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए। नेपाल क्रिकेट संघले यस अगाडि नै उनीसँग सम्झौता नवीकरण नगर्ने निर्णय गरिसकेको थियो।
क्यानले शनिवार उनले नेपाली क्रिकेट टिमका लागि दिएको योगदानका लागि धन्यवाद दिएको छ। मोन्टी सन् २०१७ मा नेपालको यु–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा नेपाल आएका थिए। पछि उनले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाए।
एक दिवसीय मान्यता जोगाउन सङ्घर्षरत रहेको बेलामा मोन्टी आए। उनको कार्यकालमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो।
गत असारमा आइसिसी टी–२० विश्वकपका खेलमा नेपालको प्रदर्शन उत्साहजनक रहेन। दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्ससँगको खेलमा नेपालले १ अङ्क मात्र जोड्न सकेको थियो।
पछिल्लो १२ अन्तर्राष्ट्रिय खेलमध्ये नेपाल आठ खेलमा पराजित भयो। त्यसपछि क्यान मोन्टीको कार्यकाल नवीकरण नगर्ने पक्षमा पुग्यो।
माघ १९, २०८१ शनिबार २१:५१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।