उकेरा टप फाइभ : आयुर्वेद डा. मदनको उपचार अनुभवदेखि फिल्ममा हुने बौद्धिक चोरीसम्म

उकेरा टप फाइभ : आयुर्वेद डा. मदनको उपचार अनुभवदेखि फिल्ममा हुने बौद्धिक चोरीसम्म

काठमाडौं : अछामको ढकारी गाउँपालिका-८ स्थित घोडासैनमा मृत भेटिएका दुई किशोरीलाई उनैका प्रेमीले हत्या गरेको खुलेको छ। स्थानीय छिन्ने जंगलमा गाईवस्तु चराउन गएका १४ वर्षीया सरस्वती खड्का र १५ वर्षीय ईश्वरी खड्काको गत शनिबार शव भेटिएको थियो। 

आज पत्रकार सम्मेलन गरेर अछाम प्रहरीले अनुसन्धानबाट शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा दुई किशोरले उनीहरूको हत्या गरेको देखिएको जनाएको छ। प्रहरीका अनुसार मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन्। शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रममा उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तीकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए। 

महिला त्रिकोणात्मक टी-२० आई सिरिजमा थाइल्याण्डले लगातार दोस्रो जित हात पारेको छ। थाइल्याण्डले नेपाललाई ४ विकेटले हराएको हो। १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको  हो। आफ्नो तेस्रो खेल नेपालले आइतबार नेदरल्याण्ड्ससँग खेल्नेछ। 

हमासका लडाकूसमूहले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर बसेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेका छन्। युद्धविराम सम्झौता अनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ।

इजरायलले शनिबार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको सजाय वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन्।

अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार 

फिल्म पूर्णबहादुरको सारङ्गीको टिम अहिलेसम्मको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको सफलतामा रमाइरहँदा लेखक अजित लामिछाने ‘कथा चोरी’ मा न्याय खोज्दै प्रहरी कार्यालय धाइरहेका छन्।

नेपाल प्रतिलिपि अधिकार रजिस्टार कार्यालयमा उनले दिएको निवेदन जिल्ला प्रहरी परिसर काठमाडौँमा आएर थन्किएको छ। तीन पटक टिमसँग प्रहरी कार्यालयमै छलफल पनि भइसक्यो। तर, निकास निस्किएको छैन।

आफ्नो फिल्म ‘लाज’को कथासार र केही प्लट तोडमोड गरेर निर्देशक पौडेलले पूर्ण बहादुरको सारङ्गीमा राखेको दाबीमा लामिछाने अडिग देखिन्छन्। उता पूर्णबहादुरको सारङ्गीको टिमका सदस्य भने 'हैन' र 'संयोग' भन्ने बाहेक कथा आफ्नै हो भन्ने प्रमाण पेश गर्न सकेको देखिएन।
पूरा समाचार: फिल्ममा बौद्धिक चोरी : ‘पूर्णबहादुर’को टिम सक्सेस् पार्टीमा रमाउँदा ‘लाज’का लेखक प्रहरी कार्यालय धाउँदै

डा. मदन भण्डारी आयुर्वेदतर्फको शल्य चिकित्सक हुन्। उनले आयुर्वेदिक शल्यचिकित्सा विधि अपनाई कयौं व्यक्तिको उपचार गरेर सञ्चो बनाएका छन्। चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेका यस्तै तितामिठा अनुभव डा. मदनले उकेरासँग साटेका छन्।
पूरा समाचार: आयुर्वेद डा. मदनको अनुभव : समाजमा चिनिएका मान्छेहरू पायल्सको उपचार गर्न लजाएर खुसुक्क क्लिनिकमा आउँछन्

कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूले पहुँचको आधारमा बहुवर्षीय योजनाहरू र स्रोत सुनिश्चितताका आयोजनाहरू बाँडफाँट गरेका छन्। उकेराले प्राप्त गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको विवरण अनुसार, कुल ८० योजनाहरू बहुवर्षीय र स्रोत सुनिश्चितताका रूपमा छनोट गरिएका छन्।

यसअनुसार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका ६२, जलस्रोत तथा उर्जा विकास मन्त्रालयका १४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ३, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका १ योजना बहुवर्षीय र स्रोत सुनिश्चितताका रूपमा बाँडिएका छन्।

प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी (२० योजना) बहुवर्षीय योजनाहरू छन् भने हुम्ला र जुम्लामा सबैभन्दा कम (४-४ योजना) छन्। डोल्पा र दैलेखमा १०-१०, जाजरकोटमा ८, मुगु र सल्यानमा ७-७, रुकुमपश्चिम र कालिकोटमा ५-५ योजनाहरू बहुवर्षीय र स्रोत सुनिश्चितताका रूपमा छनोट गरिएका छन्।
पूरा समाचार: कर्णालीका योजना बाँडफाँटमा पहुँचको खेल : मुख्यमन्त्रीको जिल्लाले २० पाउँदा हुम्ला र जुम्लामा चार वटा मात्रै

सुमना श्रेष्ठ प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री हुन्। रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन्। 

विक्रम संवत् २०४९ मा काठमाडौंमा जन्मिएकी सांसद श्रेष्ठले अमेरिकाबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन्। विसं २०७२ को भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न नेपाल फर्किएकी उनी राजनीतिक यात्रा रास्वपाको स्थापनासँगै सुरू गरिन्। उनीसँग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा चार महिनाको जिम्मेवारीको अनुभव छ। प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश। 
पूरा समाचार: सांसद सुमनासँग संवाद : गलत भाष्य बनाउने ठूला दलकै नेता हुन्, केही भन्यो कि विदेशी दलाल भन्छन्

अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा शनिबार बिहान एउटा सानो मेडिकल विमान दुर्घटना भएको छ। समाचार एजेन्सी एपीका अनुसार फिलाडेल्फियाबाट मिसौरी जाँदै गरेको विमानमा ६ जना सवार थिए। जसमा दुई डाक्टर, दुई पाइलट, एक बिरामी र एक परिवारका सदस्य थिए।

संघीय उड्ययन प्रशासनका अनुसार लियरजेट ५५ नामको यो विमान उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६ः३० बजे उडेको थियो। त्यसको ३० सेकेन्डपछि ६ दशमलव ४ किलोमिटर दूरीमा दुर्घटनाग्रस्त भयो।
पूरा समाचार: अमेरिकामा फेरि अर्को विमान दुर्घटना, उडेको ३० सेकेन्डमै भवनमा खस्यो एयर एम्बुलेन्स

माघ १९, २०८१ शनिबार २१:४८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।