पाथीभरा मुक्कुमलुङमा केबलकार मुद्दाको पहल गर्ने जिम्मा सामान्य प्रशासन मन्त्रालयलाई, पछि हट्यो गृह

पाथीभरा मुक्कुमलुङमा केबलकार मुद्दाको पहल गर्ने जिम्मा सामान्य प्रशासन मन्त्रालयलाई, पछि हट्यो गृह
सम्बन्धीतका जिल्लाका सांसदहरूसँग छलफल गर्दै गृहमन्त्री लेखक

काठमाडौं : गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा मुक्कुमलुङमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ। 

गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तथापि यसअघि यस मुद्दाको पहलमा गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखक सक्रिय थिए।  

स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ। 

त्यसअघि माघ १५ मा गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र सङ्खुवासभाका सांसदहरूलाई मन्त्रालयमा बोलाएरै केबलकार निर्माणमा देखिएको समस्या र स्थानीयको मागबारे छलफल गरेका थिए। छलफलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी समेत सहभागी थिए।

माघ १२ मा फुङलिङ नगरपालिका वडा नम्बर १२ बलुडाँडामा सुरक्षा निकाय र नो केबलकार समूहबीच झडप हुँदा गोली चलेको थियो। त्यस क्रममा पाँच जना आन्दोलनकारी र १३ जना प्रहरी घाइते भएका थिए।

विरोध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा तीन जना गम्भीर घाइते भएपछि यो विवाद अब स्थानीय मुद्दा मात्र रहेन, केन्द्रसम्म आइपुगेको हो।

माघ १९, २०८१ शनिबार १७:४५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।