सरकारले ल्याएको सहकारी अध्यादेशको बचाउमा देउवा, गरिबी निवारण हुने दाबी

सरकारले ल्याएको सहकारी अध्यादेशको बचाउमा देउवा, गरिबी निवारण हुने दाबी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन्। 

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रममा उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तीकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए। 

उनले भने, ‘सहकारीकै कारण गरिबी निवारण, सशक्तीकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर नयाँ अध्यादेश ल्याएको छ। सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ।’

सभापति देउवाले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामै अर्थतन्त्रका तीन आधार सरकारी, निजी र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए। 

नेपाली कांग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्याउन अभियानको रुपमा विस्तार गर्न लागेको पनि उनको भनाई छ। 

उनले नेपाली कांग्रेस सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गरे।  

माघ १९, २०८१ शनिबार १५:४९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।