छ रुपैयाँसम्मले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

छ रुपैयाँसम्मले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं : नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य छ रुपैयाँसम्म बढाएको छ।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँ तथा डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँले बढाएको हो।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको नेपाल आयल निगमले जनाएको छ।

माघ १९, २०८१ शनिबार ०८:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।