चितवनमा गैँडा स्थानान्तरण सुरू, दुई भाले र दुई पोथी पूर्वतर्फ सारिँदै

चितवन : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गरेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो।
केही वर्षअघि नै गैँडा आन्तरिक रूपमा स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै स्थानान्तरणको काम थालिएको थियो। गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार यस पटकका स्थानान्तरणका लागि सबै तयारी पूरा भएको छ। प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट स्थानान्तरणको तयारी थालेको छ।
निकुञ्जका हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, र सुरक्षार्थ खटिएको सेना लगायतको सहयोगमा स्थानान्तरण गरिनेछ।
डा. पन्तले भने, ‘यो पटक दुईवटा भाले र दुईवटा पोथी गैँडा स्थानान्तरण हुँदैछन्।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार स्थानान्तरणको निर्णय गरिएको हो।
प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा भएको र तिनीहरूको स्थानान्तरणले वासस्थान सहज हुने उल्लेख थियो। स्थानान्तरण गर्दा वयस्क गैँडा नै गरिने उहाँले बताउनुभयो। स्थानान्तरणको काम दुई साता भित्र सकिने अनुमान गरिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार स्थानान्तरणसँगै पश्चिम र पूर्वी क्षेत्रका गैँडाबीच संसर्ग भई प्रजननमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पश्चिमबाट ल्याइएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोड्ने तयारी भइरहेको उनले जानकारी दिए। विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलको नेतृत्वमा टोली चितवन आइपुगेको छ।
तीन वर्षअघि विभागले उपमहानिर्देशक बेदकुमार ढकालको नेतृत्वमा गैँडा स्थानान्तरणसम्बन्धी अध्ययन टोली गठन गरेको थियो। पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन्, जसमा बर्दियामा ३८, शुक्लाफाँटामा १७, चितवनमा ६९४, र पर्सामा ३ वटा गैँडा रहेका छन्।
माघ १९, २०८१ शनिबार ०८:००:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।