भ्रष्टाचार गर्दिन-गर्न दिन्न भन्ने ओलीलाई लिङदेनको जवाफ ‘तपाईँले त थाहा भएन, तपाईँ वरपरकाले भ्रष्टाचार गरिरहेका छन्’

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीको वरिपरि भ्रष्टाचार, कमिसन उठाउने र उठ्तिपुठ्ती गर्नेहरू रहेको दाबी गरे।
शुक्रवारबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन अनि गर्न दिन्न भन्ने दाबी गरेका थिए। ओलीको सोही दाबी केन्द्र हुँदै लिङदेनले भने ‘ तपाइले (भ्रष्टाचार) गर्नु हुन्छ,हुन्न थाहा छैन। तर तपाईँ वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन्।’
उनले प्रधानमन्त्री वरपर रहेका र सरकारमा रहेकाहरू उठ्तीपुठ्तीमा संलग्न रहेको, निर्माण व्यवसायीलाई दिने भुक्तानीमा समेत कमिसन खाइरहेको, सरकारले गर्ने नियुक्तिमा करोडौँ माग्दै हिँडेको र व्यापारीको गोदाममा छापा मारेर पैसा बार्गेनिङ गरिरहेका दाबी गरे।
उनले संसद्मा विधिको शासनका सवालमा समेत सरकार चुकेको बताए। एकै प्रकारको अभियोगमा पनि कोही एक दिन पनि हिरासतमा नबसी अदालत पुग्ने, कोही ८४ दिन प्रहरी हिरासतमा बसेर अदालत पुग्ने गरेको देखिएको भन्दै प्रश्न गरे ‘तपाईँको पार्टीको मान्छे एक दिन पनि हिरासतमा बस्नु नपर्ने?, कानुन त सबैलाई बराबर लाग्छ होला नि।’
उनले सरकारले सम्पत्ति शुद्धीकरण कानुनको डन्डा लगाएको भन्दै अब अरू नेताको पनि सम्पत्तिको स्रोतको छानबिन गर्नु पर्ने माग गरे।
‘प्रधानमन्त्री, प्रधानमन्त्री वरिपरिका मानिसहरू, मेरो, मेरो वरिपरिका मान्छेहरू सबैको सम्पत्तिको छानबिन गरौँ न।’
माघ १८, २०८१ शुक्रबार १६:१२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।