संसद्मा रवि खोज्दै स्वर्णिमले भने ‘अब भुटानीदेखि वाइडबडीसम्ममा संसदीय छानबिन माग्छौँ’

काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेले आफ्नो पार्टी सभापति रवि लामिछानेविरुद्ध तीन जिल्लामा जारी रहेको विचाराधीन मुद्दाको बचाउमा बोले।
प्रतिनिधि सभामा पार्टीको प्रतिनिधिको रूपमा बोल्न रोस्टममा पुगेका उनले १५ मिनेट बोलेका थिए। संसद्मा बोल्दा उनले अधिकांश समय पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेकोमा प्रतिरक्षा गरेका थिए।
अदालतमा विचाराधीन विषयबारे संसद्मा बहस, प्रतिरक्षा गर्न नपाइने व्यवस्था छ। सम्बोधनमा वाग्लेले अदालतमा विचाराधीन विषयमा म धेरै बोल्दिन भन्दै न्यायालयका रहेका व्यक्तिहरूको प्रशंसा अनि पार्टी सभापतिमाथि लागेको अभियोगको प्रतिरक्षा गरिरहे।
उनले सम्बोधनको प्रारम्भ नै ‘यो प्रतिनिधि सभाको बैठकमा विशेष अनुपस्थिति छ’ भन्दै सुरु गरेका थिए। उनले चितवनबाट ५० हजार मतान्तरले दुई पटक जितेको व्यक्ति यो संसद्मा छैन’ भन्दै रवि लामिछानेको निलम्बन फुकुवा नभएकोमा आपत्ति जनाएका थिए।
शुक्रवारै लामिछाने आफैँले सभामुख देवराज घिमिरेलाई भेटेर आफू तीन जिल्लाको अदालतबाट धरौटीमा छुटेको भन्दै आफ्नो संसद् पदको निलम्बन फुकुवा गर्न माग गरेका थिए। तर उनको माग अनुसार निलम्बन फुकुवा भएन। रविमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग समेत लागेकाले धरौटीमा छुटे पनि उनको निलम्बन फुकुवा हुन सकेन।
यसैमा वाग्लेले आपत्ति जनाउँदै २०६४ मा बनाएको ऐनमा टेकेर निलम्बन गरेको र त्यसको कानुनी उपचार खोज्ने चेतावनी दिए।
उनले संसद् बैठकमा रवि लामिछानेमाथि सिङ्गो राज्य लागेको भन्दै त्यसलाई राजा ज्ञानेन्द्र शाहले शाही आयोग बनाएर दलका नेताहरूको सम्पत्ति छानबिनको आवरणमा जेल हाल्न खोजेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यो बेलामा पनि न्यायालयले जोगाएको भन्दै लामिछानेलाई पनि न्यायालयले जोगाउने आशय व्यक्त गरेका थिए।
उनले सांसदहरूप्रति लक्षित गर्दै सोधे ‘अरूलाई खनेको खाल्डोमा आफू पर्छु भन्ने लाग्छ कि लाग्दैन?’
सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागका कारण समिति गठन भएको थियो। त्यही समितिको प्रतिवेदनका आधारमा रविबारे पाँच जिल्ला अभियोग र पूरक अभियोग लागेको थियो।
त्यसैलाई सङ्केत गर्दै वाग्लेले धम्कीको शैलीमा भने ‘ अब भुटानीदेखि वाडइबडीसम्म छानबिन गर्न संसदीय समिति माग्ने छौँ।’
उनले संसद्को चौथो ठुलो दलको नेतालाई ८४ दिन थुनेको भन्दै रोष व्यक्त गरे। उनले संसद्मा आफूहरू कानुनको शासनमा विश्वास गर्ने दल भएको तर सरकारमाथि विश्वास नभएको बताए।
माघ १८, २०८१ शुक्रबार १५:५३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।