भ्रष्टाचार गर्दिन भन्ने प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै माओवादी सचेतक हितराजले भने ‘नक्कली शरणार्थीमा जनताले हेरिरहेका छन्’

काठमाडौँ : माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक हितराज पाण्डेले सुशासन बोल्ने कुरा नभई देखाउने कुरा भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्।
शुक्रवारबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने दाबी गर्दै यदि कसैसँग प्रमाण भए ल्याउन चुनौती दिएका थिए।
माओवादी केन्द्रको प्रतिनिधिको रूपमा प्रतिनिधि सभामा बोल्दै पाण्डेले भने ‘बोल्ने कुरा मात्र हैन देखाउनु पर्यो। भुटानी शरणार्थी काण्डमा भएको अनुसन्धान जनताले हेरिरहेका छन्।’
उनले प्रारम्भमै संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई बोल्न नदिएको प्रशंसा कोट्याउँदै सबै दललाई सँगै लिएर हिँड्ने अभ्यास गर्नुपर्नेमा त्यसो नभएको भन्दै आलोचना गरेका थिए।
उनले सुशासनमा सरकारले काखापाखा गरिरहेको भन्दै सत्तापक्षकालाई काखा र अन्यलाई पाखा गरेको आम नागरिकले हेरिरहेको टिप्पणी गरे।
उनले विचाराधीन विधेयकहरूमा छलफल गर्नुको साटो अध्यादेश ल्याउने काम भएको भन्दै सरकारको आलोचना गरेका थिए।
माघ १८, २०८१ शुक्रबार १५:३१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।