श्रीमान्को फिल्ममा अडिसनबाट छानिएको सुपुष्पाको दाबी

काठमाडौं : फिल्म ‘रणवीर’बाट नेपाली फिल्ममा डेब्यु गरेकी नायिका सुपुष्पा भट्टले फिल्म ‘छ माया छपक्कै’, ‘चपली हाइट ३’मा अभिनय गरिन्। फिल्ममा राम्रै अभिनय पाउँदै गर्दा निर्माता रौनक विक्रम कँडेलसँग विवाह गरिन्।
विवाहपछि केही म्युजिक भिडियोमा देखिएकी छन् उनी। त्यसअघिका फिल्ममा पनि उनी मुख्य भूमिकामा देखिएकी हैनन्। तर, श्रीमान् रौनकले निर्माण गरेको फिल्म ‘दिमाग खराब’मा भने उनी देखिइन्। तर गीतमा मात्रै।
श्रीमतीको रहर पूरा गर्न रौनकले श्रीमतीलाई फिल्मको गीतमा नचाएको आरोप लाग्यो। बजारमा राम्रै गसिप चल्यो। रौनकल कथाले मागेको रट लगाइरहे भने सुपुष्पाले चित्तै दुखाएर फेसबुकमा स्टाटस नै लेखिन्।
तर, यसपटक भने श्रीमतीलाई मुख्य भूमिकामा राखेर रौनकले दश वर्षअघि फ्लप भएको फिल्म ‘रेशम फिलिली’को सिक्वेल बनाएका छन्। ‘रेशम फिलीली’मा विनय श्रेष्ठ र मेनुका प्रधानको जोडी थियो भने अहिले मेनुकाको ठाउँ सुपुष्पाले लिएकी छन्।
बिहिबार कमलपोखरीस्थित बिग भुमिज्मा निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको गीत ‘फेरि जालमा’ रिलिज गर्यो। गीतमा विनय र सुपुष्पाको अभिनय छ।
गीत रिलिज कार्यक्रममा पुगेकी सुपुष्पालाई सञ्चारकर्मी सोधेका केही कठिन प्रश्नको जवाफ दिइन्। उनीमाथि सञ्चारकर्मीले श्रीमान्का कारण फिल्ममा अभिनय गरेको कि कथाले मागेर? भन्दै प्रश्न गरे।
जवाफमा उनले श्रीमान्को प्रशंसा गर्दै निर्देशक निरज महर्जनले आफूलाई अडिसनमार्फत छानेको दाबी गरिन्।
‘मेरो श्रीमान् सिनेमाको बारेमा गहिरो अध्ययन भएको मान्छे हो,’ उनले भनिन्, ‘बाँकी रह्यो मेरो कास्टको कुरा, निर्देशक निरज महर्जनले मलाई कास्ट गर्नुभएको हो, त्यो पनि अडिसनबाट छानेर।’
निरज महर्जनले निर्देशन रहेको फिल्ममा विजय र सुपुष्पाको अलावा कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतका कलाकारले अभिनय छ।
माघ १८, २०८१ शुक्रबार १३:०१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।