निलम्बित सांसद रवि लामिछानेले भेटे सभामुख

निलम्बित सांसद रवि लामिछानेले भेटे सभामुख

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनीसँग भेट गरेका हुन्। भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए।

भेटमा लामिछानेले सभामुख घिमिरेसँग आजैको बैठकमा निलम्बन फुकुवा गर्न माग गरेका छन्। त्यसका लागि उनले  प्रतिनिधि सभा नियमावलीको दफा २८ को उपदफा ३ समेत स्मरण गराएका छन्।

भेटमा निलम्बित सांसद लामिछानेले संसद् सचिवालयको लोगो लगाएका थिएनन् भने अन्य सांसदले लगाएर गएका थिए।

सहकारी रकम अपचलन प्रकरणसँगै सम्पत्ति शुद्धिकरणको मुद्दा पनि अदालतमा चलेपछि उनलाई संसद् सचिवालयले निलम्बन गरेको छ।

संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुँदैछ। पहिलो दिनको बैठकमा राष्ट्रपतिको कार्यालयबाट आएका पत्रका साथमा अध्यादेश पेश गर्ने सरकारको तयारी छ।

त्यसका अलावा आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिन दलका शीर्ष नेताहरूले आफ्नो भनाइ राख्ने कार्यसूची तय भएको छ।

माघ १८, २०८१ शुक्रबार १२:३६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।