ट्रम्पको कार्यकारी आदेशमाथि एकपछि अर्को हस्तक्षेप

ट्रम्पको कार्यकारी आदेशमाथि एकपछि अर्को हस्तक्षेप

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेश रोक्न एकपछि अर्को हस्तक्षेप भएको छ। जन्मको आधारमा नागरिकता पाउन रोक्नुपर्ने  कार्यकारी आदेश रोकिएकोमा अहिले भने सरकारले दिने अनुदान तथा ऋण रोक्ने आदेश तत्कालका लागि रद्द भएको छ।

सरकारको खर्च कटौतीको नीति लिँदै गर्दा अमेरिकी सरकारले दिने स्वदेशी तथा विदेशी अनुदान तथा ऋणमाथि तीन महिनाका लागि रोक लगाउने आदेश सरकारको बजेट कार्यालयले जारी गरेको थियो। अदालतले दिएको आदेशसँगै ह्वाइट हाउसले यो आदेश रद्द गरेको हो।

तत्काल अनुदान र ऋणका विषयमा भएको निर्णय मात्र रद्द भएको द ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिइन्। कार्यालयले जारी गरेको वक्तव्यमा ‘ओएमबी मेमोरेण्डम एम-२५-१३’रद्द गरिएको उल्लेख छ।    

तीन महिनाको लामो समीक्षा अवधि कायम गर्दै सयौँ अर्ब डलरको अनुदान र ऋण परिचालन तत्काल रोक्न उनले कार्यकारी निर्णय गरेसँगै राष्ट्रपति कार्यालयले यो आदेश कार्यान्वयनमा ल्याएको थियो।

अमेरिकी सरकारको अनुदानमा आश्रित संस्थाका प्रतिनिधिले त्यस विषयमा अदालतमा मुद्दा दायर गरेसँगै अमेरिकी जिल्ला न्यायाधीश लोरेन एल अली खानले यो आदेश कार्यान्वयन तत्काल नगर्न मंगलबार अन्तरिम आदेश दिएका थिए।

आदेशको पालना गर्दै राष्ट्रपति कार्यालयले निर्णय कार्यान्वयन तत्कालका लागि रोकेको जनाएको छ। यस विषयमा विस्तृत निर्णय भने अर्को साता आउने अनुमान गरिएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। 

राष्ट्रिय गैरनाफामुखी परिषद् र अमेरिकन पब्लिक हेल्थ एसोसिएसनले मुद्दा दायर गर्दै यसले आम नागरिकको जीविकोपार्जन र स्वास्थ्यसम्बन्धी हक अधिकार खोसेको आरोप लगाएको छ।

माघ १८, २०८१ शुक्रबार ०७:५०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।