
एमालेलाई कमजोर बनाउन सम्भव हुने छैन : ईश्वर पोखरेल

काठमाडौं : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार नपाउने बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित शहीदहरुको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरि रहेको भन्दै यो असम्भव रहेको बताए।
उनले भने, ‘अहिले नेकपा एमालेको विरुद्धमा एउटा यस्तो खालको वातावरण बनाउन खोजिँदैछ कि एमाले बर्बादिको कारण हो। एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा यस्तो कुराहरू किन उठ्दैछ भने एमालेलाई कमजोर बनाइयो भने, एमालेलाई समाप्त बनाइयो भने मात्र आफ्ना अभिष्टहरू पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू यसमा केन्द्रित भएर लागेका छन्। यो सम्भव हुने छैन।’
उनले गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएको पार्टीहरू बाहिर आएको भन्दै यस्ता पार्टीहरूको जुन नाटक मञ्चन भइरहेको छ त्यसको कुनै अर्थ नभएको बताए।
उनले समाज, पार्टी, आन्दोलन सबै ठाउँमा जो सक्रिय हुन्छ त्यसले नै अगुवाई गर्ने हैसियत राख्ने भन्दै सक्रिय हुन नसक्नेहरू र नचाहनेहरू कहिले पनि अगुवाई गर्न नसक्ने बताए।
माघ १६, २०८१ बुधबार २१:५६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।